भारत–पाक सीमामा युद्धबिराम सहमति
नयाँदिल्ली, फागुन १३ : भारत र पाकिस्तानका सेनाबीच दुई मुलुकको सीमा नियन्त्रण रेखामा युद्धबिराम सहमति भएको छ ।दुई सेनाबीच बिहीबार मध्यरातिदेखि गोली हानाहान रोक्ने...
नयाँदिल्ली, फागुन १३ : भारत र पाकिस्तानका सेनाबीच दुई मुलुकको सीमा नियन्त्रण रेखामा युद्धबिराम सहमति भएको छ ।
दुई सेनाबीच बिहीबार मध्यरातिदेखि गोली हानाहान रोक्ने सहमति भएको हो । दुवै मुलुकका सैन्य अभियान महानिर्देशक (डीजीएमओ)बीच हटलाइन संवादपछि यस्तो सहमति जुटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दुवै सेनाका डीजीएमओले आ–आफ्ना सैन्य कारवाहीको कमान्ड गर्छन् ।
पछिल्ला दिनमा नियन्त्रण रेखामा युद्धबिराम उल्लंघन हुँदै आएको छ, जसकारण नियन्त्रण रेखाआसपासका गाउँले त्रसित बन्दै आएका छन् ।
‘दुवै पक्ष नियन्त्रण रेखा र अन्य क्षेत्रमा पनि हालसम्मका युद्धबिराम सम्झौता पालना गर्न राजी भएका छौँ,’ वार्तापछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।
वार्ताका क्रममा नियन्त्रण रेखा र अन्य क्षेत्रको सुरक्षा अवस्थाबारे छलफल भएको थियो । सीमामा शान्ति भंग हुने अवस्थाप्रति दुवै डीजीएमओले चिन्ता व्यक्त गरेका थिए ।











