ओली वर्तमान युगका कालिदास : श्रेष्ठ
काठमाडौं, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान युगको कालिदास साबित भएको टिप्पणी गरेका छन्।रिपोर्टर्स क्लब...
काठमाडौं, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई वर्तमान युगको कालिदास साबित भएको टिप्पणी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले आफ्नै कारणले ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसेको बताए।
अब नयाँ पार्टी नखोले ओलीको मान्यता नै समाप्त हुने उनको दाबी थियो। ‘उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो या त राजनीतिबाट सन्यास । अलिकति पनि इज्जत जोगाउने हो भने नैतिकताका आधारमा राजीनामा दिँदा राम्रो हुन्छ।’
उनले संविधानको रक्षा नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तोष व्यक्त गरे । ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिए पनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?’ श्रेष्ठ भने।
नेता श्रेष्ठले अब कसरी अघि बढ्ने भनेर आफूहरूले कांग्रेस र नेकपा प्रचण्ड–नेपाल समूहलाई ठोस धारणा बनाउन सुझाव दिएको पनि जानकारी दिए।
नेकपाको आन्तरिक विभाजनले कानूनी रूपमा पूर्णता पाएपछिको गठबन्धन मात्र प्राकृतिक हुने भन्दे नेता श्रेष्ठले विगतको समस्याबारे पनि आपसमा बसेर समीक्षा गर्नुपर्नेमा उनले जोड दिए।
नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेबीच भेटवार्ता भएको उल्लेख गर्दै उनले सो भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भनेर छलफल भएको सुनाए ।
उनले अहिले नै को प्रधानमन्त्री बन्छ भनेर न्वारान गर्ने बेला भने भइनसकेको बताए।











