Kathmandu Press

कुखुरा भटाभट मर्न थालेपछि किसान चिन्तित     

इलाम, फागुन १३ : पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् ।एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा...
कुखुरा भटाभट मर्न थालेपछि किसान चिन्तित     

इलाम, फागुन १३ : पछिल्लो समय कुखुरा मर्न थालेपछि जिल्लाका किसान चिन्तित बन्न थालेका छन् ।

एकै दिन एकै किसानका एक हजार हाराहारीमा कुखुरा मर्न थालेका छन् । पहिले कुखुरा झोक्राउने, हरियो र सेतो रङको दिसा गर्ने, चारो नखाने लक्षण देखिएको किसानहरूले बताएका छन्।

आइतबार र सोमबारमा १ हजार २ सय कुखुरा मरेको पोल्ट्री व्यवसायी विनोद पोखरेलले जनाए। एकैपटक धेरै कुखुरा मर्दा साढे ४ लाखभन्दा बढी क्षति बेहोर्नुपरेको उनको भनाइ छ।

पोल्ट्री व्यवसायी संघका अध्यक्ष दिनेश महतले लोकल २ सय ५० र कडकनाथ जातको १ सय कुखुरा मरेको जानकारी दिए। उनले कुखुरा मर्दा ३ लाख ८० हजारभन्दा बढी क्षति भएको बताए। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामले रानीखेतको खोप नलगाएका कारण कुखुरा मरेको जनाएको छ । किसानले भने रानीखेतको खोप लगाएको कुखुरासमेत मरेको जानकारी दिए।

सात दिनदेखि इलाम नगरपालिका क्षेत्रमा किसानले पालेको कुखुरा मरेको पशु प्राविधिक प्रकाश लुइँटेलले जानकारी दिए । ‘झोक्राउने, हरियो सेतो छेर्ने, चारो नखाने लक्षण देखिएपछि कुखुरा मर्न थालेका छन्,’ उनले भने, ‘कुखुरा बिरामी पर्न थालेको दुई÷तीन दिनमा फार्म नै रित्तिन थालेको छ ।’     
     
कुखुरा मर्न थालेपछि भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले नमुना संकलन गरेर विराटनगरको प्रयोगशालाको पठाएको थियो । परीक्षण गर्दा कुखुरामा रानीखेतको भाइरस देखिएको डा. सञ्जय ढुंगानाले जानकारी दिए । ‘कतिपय किसानले रानीखेतको खोप नै लगाउँदैनन्, कसैले खोप लगाउने कसैले खोप नलगाउने भएपछि कुखुरामा रोग देखिएको हुनसक्छ,’ उनले भने, ‘खोप लगाउँदासम्म तापक्रम मिलाइएन भने त्यसको प्रभावकारिता नहुन सक्छ ।’
 

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, फागुन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्