Kathmandu Press

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : शम्भु थापा

काठमाडौं, फागुन १२ : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका थापाले...
प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : शम्भु थापा

काठमाडौं, फागुन १२ : वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका थापाले बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संसद् पुनःस्थापना गर्ने अदालतको फैसलाका कारण मुलुकले संवैधानिक निकास पाएको स्पष्ट पारे।

थापाले मुलुकले अब राजनीतिक निकास चाँडै पाउने विश्वास व्यक्त गरे । उनले मुलुकमा राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिँदै अब नागरिक समाजको आवाज सम्बोधन हुनुपर्ने धारणा राखे।

उनले वर्तमान प्रधानमन्त्रीले पार्टी फुटाए अर्को अवस्था आउने तर दल फुटेन भने नेकपाभित्रैबाट सरकार बन्ने आँकलनसमेत गरे।

थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको ओज नराखेको स्पष्ट पारे । प्रधानमन्त्रीले संसद् विघटनका लागि सिफारिस गर्नेबित्तिकै संविधानमा त्यस्तो व्यवस्था छ कि छैन भनेर छलफलका लागि नबोलाएको भन्दै गुनासो गरे । ‘गिरिजाले विघटनको सिफारिस गर्दा राजाले त चारपाँच दिन छलफलमा बोलाएका थिए,’ उनले भने, ‘संविधान र संसद् भनेको राष्ट्रको सम्पत्ति हो।’

संविधानको गरिमा बोक्न चुकेकाले राष्ट्रपतिको भूमिका दयनीय देखिएको उल्लेख गर्दै उनले ओलीले पनि संविधानमा नै नभएको अधिकार प्रयोग गरेर मुलुकलाई तहसनहस पार्ने काम गरेको टिप्पणी गरे । प्रधानमन्त्रीलाई राज्यद्रोहको मुद्दा लाग्ने सम्भावना राजनीतिक इच्छाशक्तिमा पनि भर पर्ने उनको भनाइ थियो। 

थापाले प्रधानमन्त्री ओलीले सधैंभरि प्रधानमन्त्री खान संसद विघटन गरेको दाबी गरे । निजी प्रेस सल्लाहकारमार्फत राजीनामा नदिने भन्ने सन्देश उनको आयु अविश्वासको प्रस्ताव पास नहोउन्जेल मात्र रहेको थापाको भनाइ थियो । उनले ओलीले अब संकटकाल लगाउनै नसक्ने जिकिर गरे।

थापाले संवैधानिक नियुक्तीहरु पनि स्वतः खारेज हुने टिप्पणी गरे । उनले अदालतमा राजनीतिक हस्तक्षेप हिजो पनि नभएको र आज पनि नभएको जिकिरसमेत गरे। 
 

प्रकाशित मिति: १८:२३ बजे, बुधबार, फागुन १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्