लक्ष्यभन्दा आधाले पनि लाएनन् कोरोना खोप
नुवाकोट, फागुन १२ : नुवाकोटमा अग्रपंक्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिसिल्ड) को पहिलो डोज लगाएका...नुवाकोट, फागुन १२ : नुवाकोटमा अग्रपंक्तिमा सेवा प्रवाहमा कार्यरत लक्षित समूहमध्ये आधाभन्दा कमले मात्रै कोरोना रोग विरुद्धको खोप (कोभिसिल्ड) को पहिलो डोज लगाएका छन्।
जिल्लामा हालसम्म दुई समूहमा सञ्चालन गरिएको खोप कार्यक्रममा ८ हजार ७९ जनाले कोरोना रोगविरुद्ध खोप लगाउन नाम सूचीकृत गरे पनि कार्यक्रम सम्पन्न हुँदासम्म ३ हजार ८ सय ८६ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए।
दोस्रो चरणको खोप कार्यक्रम सोमबार सम्पन्न भएको छ । फागुन २ देखि सुरु भएको दोस्रो चरणका लागि ६ गतेसम्म तोकिएको भए पनि लक्ष्यभन्दा निकै कमले सहभागिता जनाएसँगै ८ गतेसम्म समय थप गरिएको थियो।
स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले नाम दर्ता गराएको लक्ष्यभन्दा आधाभन्दा कमले मात्रै खोप लगाउनुलाई मापदण्ड (दीर्घरोगसम्बन्धी औषधि सेवनकर्ता, कोरोनाको सक्रिय संक्रमित, गर्भवती तथा स्तनपान गराउँदै आएका सुत्केरीलाई नहुने) अनुसार नाम दर्ता गराउने धेरै र सेवा लिनेको संख्या कम देखिएको हुन सक्ने बताए।
यद्यपि खोप लगाएपछि देखिने शारीरिक प्रतिक्रिया र खोपप्रतिको विश्वाससमेत कम भएर लगाउनेको संख्या लक्ष्यभन्दा कम भएको हुन सक्ने स्वास्थ्य कार्यालयको भनाइ छ । नुवाकोटमा पहिलो चरणको खोप अभियान गत माघ १४ गतेदेखि र दोस्रो चरणको खोप अभियान फागुन २ गतेदेखि चलाइएको थियो ।
सरकारी कर्मचारी, स्थानीयतहका जनप्रतिनिधि, पत्रकार, जिल्लास्थित बैंकको शाखा कार्यालय र सहकारी तथा वित्तीय संस्थाका कर्मचारीसमेत गरेर ५ हजार ६ सय ५८ जनाले खोप लगाउन नाम सूचीकृत गरे पनि सो अवधिमा २ हजार ८१ जनाले खोप लगाएका थिए।
त्यसअघि पहिलो चरणको खोप कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयसेविका, एम्बुलेन्स र शवबाहनका चालक, सरसफाइकर्मीलाई लक्षित गरेर चलाइएको खोप कार्यक्रममा २ हजार ४ सय २१ जनालाई खोप लगाउने लक्ष्य राखे पनि १ हजार ५ सय ७६ जनाले मात्रै खोप लगाएका थिए।











