झारफुकका नाममा झाँक्रीबाट कुटिए शिक्षक
मोरङ, फागुन १० : झारफुकका नाममा झाँक्रीबाट एक शिक्षक कुटिएका छन्। कुटपिटमा परेका शिक्षक मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षका भीमकाजी गुरुङ हुन्।घाइते...
मोरङ, फागुन १० : झारफुकका नाममा झाँक्रीबाट एक शिक्षक कुटिएका छन्। कुटपिटमा परेका शिक्षक मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षका भीमकाजी गुरुङ हुन्।
घाइते गुरुङको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको थियो। उपचारपछि उनी घर फर्किएका छन्।कुटपिटमा संलग्न झाँक्री २५ वर्षका कृष्ण घतानी हुन्।
कुटपिटको भिडियो सामाजिक सञ्जालमा आएको छ । भिडियोमा देखिएकाे दृश्यअनुसार झारफुक गर्ने क्रममा झाँक्री घतानीले गुरुङमाथि खुकुरीले हान्न खोजेका छन्। त्यसपछि थानवरिपरि रहेकाहरूले शिक्षक गुरुङलाई धकेलेर लडाउनुका साथै लात र मुक्का प्रहार गरेका छन्।
गुरुङमाथि कुटपिट भएपछि परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले झाँक्री घतानीलाई पक्राउ गरेको छ। घटनामा सात-आठ जनाको संलग्नता रहे पनि तत्काल पहिचान खुलेका झाँक्री घतानी मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अन्यको खोजी भइरहेको छ।
मानसिक समस्या देखिएपछि केही वर्षदेखि औषधि खाँदै आएका शिक्षक झारफुकबाट आफ निको हुने आशामा झाँक्री घतानीकहाँ पुगेका थिए।
पक्राउ परेका कृष्ण पछिल्लो समय बेलबारीमा बसेर झारफकको काम गर्दै आएको प्रहरीको भनाइ छ। पछिल्लो समय युट्युबमार्फत झारफुकबारे प्रचार गरेको र उनीकहाँ हेराउन आउनेलाई यातना दिने गरेको प्रहरीले बताएको छ।











