ओली सरकार वैधानिक रुपमै लोकतन्त्र उल्ट्याउन लाग्यो : पौडेल
दिपायल, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले वैधानिक रुपमा लोकतन्त्र....
दिपायल, जेठ १५ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले वैधानिक रुपमा लोकतन्त्र उल्ट्याउन विभिन्न विद्येयक संसदमा अगाडि बढाएको बताएका छन्।
नेपाल प्रेस युनियन डोटीले बुधबार गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले मुलुकको शासन सत्ता लोकतन्त्रमा विश्वास नगर्न शक्तिका हात गएकाले आम नागरिकमा फेरि लोकतन्त्र संकटमा पर्न लागेको आभास भएको बताए।
‘सरकारले ल्याएको विधेयक सबै नागरिक अधिकार र लोकतन्त्र तथा संविधानलाई अनादर गर्ने खालका छन्। यो लोकतन्त्रमा विश्वास नहुने शक्तिका हातमा सत्ता पुगेका कारण भएको हो। उनीहरु वैधानिक रुपमा लोकतन्त्र उल्ट्याउने प्रयास स्वरुप प्रेसमाथि अंकुश लगाउने विधेयक, मानवअधिकार आयोगलाई कमजोर बनाउने विधेयक, सेनामाथि नियन्त्रण गर्ने, विश्वविद्यालयलाई राजनीतिक भर्तीकेन्द्र बनाउने विधेयक सरकारले अगाडि बढाएको छ,’उनले भने।
पौडेलले कांग्रेस सिंगो मुलुक र समाजलाई लोकतान्त्रीकरण गर्ने अभियानमा लागेको बताए। उनले नेपाललाई अनिश्चिततातर्फ लैजाने संकेत देखा पर्न लागेको बताए। पौडेलले मुलुकले हिंसा धान्न नसक्ने भन्दै गणतन्त्र रक्षाका लागि पनि तत्काल हिंसा अन्त्य गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आग्रह गरे।
पौडेलले बम बारुद पड्काउने हिंसाजस्तै भ्रष्टाचार पनि अर्को हिंसा भएको बताए। उनले हिंसा र भ्रष्टाचार दुबै लोकतन्त्र विरोधी भएको बताए। पौडेलले भने,‘व्यक्ति हत्या र बम पड्काउनु जस्तै भ्रष्टाचार पनि अर्को हिंसा हो। भ्रष्टाचारले पनि जनताको इच्छा अनुरुपका काम हुन सक्दैनन्। यी दुबै लोकतन्त्र विरोधी हुन्।’
सरकारले पक्षपाती, मनोमानी शासन संचालन गरी मुलुकलाई निरंकुशता, कम्युनिष्ट अधिनायकबाद तिर लगेको आरोप लगाउँदै पौडेलले शासकको नियतमा खोट भएको आरोप लगाए। ‘अपराधीहरु राजनीतिक संरक्षणमा छन्। अपराधीहरु कानूनको दायरामा आउँदैनन्,’ नेता पौडेलले भने,‘अख्तियार निरीह छ। अदालत, पुलिस प्रशासन निरी छ। कम्युनिष्टहरुले देश चलाउन सकिरहेका छैनन्। सरकार असफल भइसक्यो।’






