Kathmandu Press

मेयरले कीर्ते गरी १२ करोड हिनामिना गरेको वडाध्यक्षहरुको आरोप

काठमाडौं, फागुन ९ : बाराको सिम्रौनगढको नगरसभामा कीर्ते गरी १२ करोड हिनामिना भएको भन्दै वडाध्यक्ष र कार्यापालिका सदस्यहले कारबाहीको माग गरेका छन्।आइतबार रिपोर्टर्स...
मेयरले कीर्ते गरी १२ करोड हिनामिना गरेको वडाध्यक्षहरुको आरोप

काठमाडौं, फागुन ९ : बाराको सिम्रौनगढको नगरसभामा कीर्ते गरी १२ करोड हिनामिना भएको भन्दै वडाध्यक्ष र कार्यापालिका सदस्यहले कारबाहीको माग गरेका छन्।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी सिम्रौनगढ ४ का वडाध्यक्ष राजेशप्रसाद यादव, वडा नंं १० का वडाध्यक्ष हरिशंकरप्रसाद यादव र कार्यापालिका सदस्य परमाननन्द मुखियाले कारबाहीको माग गरेका हुन्। नगरसभामा कीर्ते गरी करोडौं हिनामिना भएको थाहा पाएपछि प्रहरीमा उजुरी पनि दिएको उनीहरुले बताए।

वडाध्यक्ष राजेशले भने, ‘२०७७÷७८ को नगरसभामा कीर्ते गरेर १२ करोड हिनामिना गरेको छ। गत असार ८ गते बसेको नगरसभामा ३१ जनाको उपस्थिति थियो, त्यसमा ५ जनाको हस्ताक्षर कीर्ते छ।’

आफूहरुले थाहा पाउने बितिक्कै प्रहरीमा उजुरी दिएको उनले बताए। उनले भने, ‘सरकारी वकिलकहाँ फाईल गएको छ। बारा जिल्लामा गएर मुद्दा दर्ता हुनुपर्यो। हामीले त प्रहरी कार्यालयमा दर्ता गराएका छौं। तर, सरकारी वकिलले बदमास गरेको छ।’

नगरसभामा ठूलो रकम हिनामिना गर्ने र कीर्ते गर्ने मेयर विजय शंकर यादव, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल भएको पनि उनको भनाइ छ। उनीहरुलाई साथ दिने लेखा अधिकृत सर्वेन्द्र चौधरी र योजना शाखा प्रमुख जितेन्द्र यादव रहेको उनको आरोप छ।

उनले यसमा जिल्ला अदालतमा फाईल पठाएर मुद्दा दर्ता गराउन माग गरेका छन्। उनका अनुसार नगरसभा सदस्य कपिलदेव साह, पानादेवी चमाई, रमावती कुशवाह, श्रीपती दुस्साधिन र रम्बा साहको नामको हस्ताक्षर कीर्ते भएको थियो।

प्रकाशित मिति: २०:३५ बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्