कान्ति भैरव मावि पुनर्निर्माणका लागि भूमि पूजन
काठमाडौं, फागुन ८ : काठमाडौं कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माविको भवन पुनर्निर्माणका लागि भूमि पूजन सम्पन्न भएको छ। उक्त विद्यालय भवन भारतीय सहयोगमा...
काठमाडौं, फागुन ८ : काठमाडौं कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माविको भवन पुनर्निर्माणका लागि भूमि पूजन सम्पन्न भएको छ। उक्त विद्यालय भवन भारतीय सहयोगमा पुनर्निर्माण हुँदैछ।
काठमाडौंस्थित भारतीय दूतावासका नियोग उपप्रमुख श्रीमती नामग्य सी. खम्पा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली भूमि पूजनमा सहभागी थिए। समारोहमा कागेश्वरी नगरपालिकाका मेयर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको उपस्थिति थियो।
शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा र आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले कूल २५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। त्यसमा शिक्षा क्षेत्रका लागि भारतले पाँच करोड डलर सहयोग गर्ने प्रतिबद्धता रहेको भारतीय दूतावासले जनाएको छ। उक्तरकमबाट नेपालका आठ जिल्लामा ०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाको पुनर्निर्माण भइरहेको छ।
हालसम्म गोरखा र नुवाकोटमा आठवटा विद्यालयको निर्माण सकिएको छ भने ५६ वटा विद्यालय भवन निर्माणाधीन छन्।
कान्ति भैरव माविको भवनको लागत २६ करोड ६० लाख अनुमानित छ। तीनतले भवनमा ३० वटा कक्षा कोठा, पुस्तकालय र प्रयोगशाला रहने छन्। यस्तै, छात्रछात्राका लागि छुट्टै सरसफाइ संरचना र फर्निचर सोही बजेटबाट तयार हुने छन्।











