Kathmandu Press

विराटनगरको सभामा प्रधानमन्त्री ओलीले नसुनाएको ‘नयाँ सूचना’

गृहमन्त्री थापाले सम्बोधन गर्दै गर्दा नेम्बाङ प्रधानमन्त्रीतिर लम्केर केही भन्दै थिए, प्रधानमन्त्री ओली सम्बोधन गर्न अगाडि बढ्दै गर्दा पनि नेम्बाङ केही भन्दै थिए । तर, नेम्बाङले जोड दिएको भनेर उनले कुनै सूचना सुनाएनन् ।
विराटनगरको सभामा प्रधानमन्त्री ओलीले नसुनाएको ‘नयाँ सूचना’

काठमाडौं, फागुन ८ : आफू नेतृत्वको नेकपाले विराटनगरमा आयोजना गरेको सभामा सहभागी हुन प्रधानमन्त्री केपी ओली शनिबार विमानस्थलमा उत्रेर सभास्थलतर्फ जाने क्रममा थिए । त्यतिबेला सभालाई सम्बोधन गर्दै गरेका नेकपा नेता तथा संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्बाङले भनेका थिए- ‘विराटनगर विमानस्थलमा प्रधानमन्त्रीको अनुहार उज्यालो देखेँ, उहाँ यो सभामा केही नयाँ सूचना दिँदै हुनु हुन्छ ।’ त्यसअघि पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहान ७ः४७ मा ट्विट गरेका थिए- ‘आज के हुन्छ ? पक्कै केही नयाँ !’

त्यस्तो नयाँ के होला ? जिज्ञासा स्वाभाविक थियो । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी तथा प्रदेश–१ प्रदेशसभा सदस्य उषाकला राई पुनः ओली समूहमै फर्केको समाचारले केही नयाँपन दियो । तर, नेम्बाङले प्रधानमन्त्रीबाटै नयाँ सूचना आउँदै गरेको घोषणा सभामा गरे ।

नेम्बाङपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सभालाई सम्बोधन गरे । र, त्यसपछि पालो आयो, प्रधानमन्त्री ओलीको । उनले त्यस्तो कुनै सूचना सुनाएनन्, जसमा नेम्बाङले जोड दिएका थिए ।

गृहमन्त्री थापाले सम्बोधन गर्दै गर्दा नेम्बाङ प्रधानमन्त्रीतिर लम्केर केही भन्दै थिए, प्रधानमन्त्री ओली सम्बोधन गर्न अगाडि बढ्दै गर्दा पनि नेम्बाङ केही भन्दै थिए । तर, नेम्बाङले जोड दिएको भनेर उनले कुनै सूचना सुनाएनन् ।

सायद त्यो सूचना सभामुख अग्निप्रसाद सापकोटा र उपराष्ट्रपति नन्दकिशोर पुनतिर लक्षित थियो । सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामुखले अदालतमा किर्ते सनाखत गरेको दाबी गरे । ‘उहाँले किर्ते सनाखत गर्नुभएको छ, साढे तीन बजे गर्न नदिएको कुरालाई साढे १० बजे ल्याएका थिए भनेर भन्नुभएको छ,’ ओलीले भने ।

त्यसपछि उनी उपराष्ट्रपति पुनतिर सोझिए र उनी सरकारविरुद्ध भाषण गर्दै हिँडेको आरोप लगाए । पार्टी एकढिक्का छँदै आफूले प्रतिनिधिसभा विघटन सिफारिस गरेको दाबी ओलीले गरे ।

शेरबहादुर तामाङ र उषाकला राई पुनः आफ्नो समूहमा फर्केको सुनाउन प्रधानमन्त्रीले छुटाएनन् ।

प्रकाशित मिति: १६:४२ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्