Kathmandu Press

कांग्रेस नेता मित्रसेन दाहालको निधन

परिवारका अनुसार शुक्रबार बिहान नौ बजे चाबहिल सरस्वतीनगरस्थित घरमै बेहोस बनेका उनलाई तत्काल ओम अस्पताल पुर्‍याइएको थियो। बिहान ११ बजे उनको निधन भएको हो।
कांग्रेस नेता मित्रसेन दाहालको निधन

काठमाडौं, फागुन ७ : कांग्रेस नेता मित्रसेन दाहालको ५८ वर्षको उमेरमा निधन भएको छ।

हृदयाघातका कारण उनको निधन भएको कांग्रेस नेता रामहरि खतिवडाले जानकारी दिए।

ओखलढुंगाको मोलुङ गाउँपालिका रामपुरका बासिन्दा उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। दाहाल कांग्रेस महासमिति सदस्य तथा ओखलढुंगा जिल्ला कार्यसमितिका पूर्वसचिव पनि हुन् ।

काठमाडौं शंखरापुर नगरपालिका-४ स्थित मैत्रीसेवा आश्रमका सञ्‍चालक पनि हुन् दाहाल। उनी अध्यक्ष रहेको जेपी प्रतिष्‍ठानले उक्त ज्येष्‍ठ नागरिक आश्रम सञ्‍चालन गर्दै आएको छ।

०४२ सालको सत्याग्रहताका नै उनी कांग्रेस राजनीतिमा सक्रिय थिए। १३ वर्षको उमेरदेखि नै उनी राजनीतिक गतिविधिमा होमिएका थिए। उनी ०७४ को आम निर्वाचनमा ओखलढुंगा ‘क’बाट पराजित भएका थिए।

कथा, कविता, निबन्ध, चिन्तन र विचार विधामा उनका १५ वटा पुस्तक प्रकाशित छन्। उनका श्रीमती, एक छोरी र एक छोरा छन्।

दाहालको परिवारका अनुसार शुक्रबार बिहान नौ बजे चाबहिल सरस्वतीनगरस्थित घरमै बेहोस बनेका उनलाई तत्काल ओम अस्पताल पुर्‍याइएको थियो। बिहान ११ बजे उनको निधन भएको हो।

कांग्रेस सभापति शेरबहादुर देउवाले दाहालको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्‍जली अर्पण गरेका छन्।
 

प्रकाशित मिति: १३:१२ बजे, शुक्रबार, फागुन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्