Kathmandu Press

आज निर्वाचन दिवस, मतदातालाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान

काठमाडौं, फागुन ७ : ‘निर्वाचनमा सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाईदै छ । नेपालमा सर्वप्रथम...
आज निर्वाचन दिवस, मतदातालाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान

काठमाडौं, फागुन ७ : ‘निर्वाचनमा सबै, सधैं, सँगै’ भन्ने मूल नाराका साथ निर्वाचन आयोगले शुक्रबार पाँचौँ निर्वाचन दिवस मनाईदै छ । नेपालमा सर्वप्रथम विसं २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आयोगले विसं २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेका हुन् । मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगले प्राप्त गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा आप्mनो स्थापनाका ५४ वर्ष पूरा गरिसकेको छ । प्रमुख आयुक्त थपलियाले निर्वाचनको यात्रामा संवैधानिक गतिशीलताअनुरूप आयोगलाई निरन्तर अगाडि बढन योगदान, प्रेरणा, सहयोग र हौसला प्रदान गर्नुहुने अग्रजको मेहनत, परिश्रम, साहस र दृढताको सम्मान एवं प्रशंसा गरेका छन् । 

स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं मितव्ययी निर्वाचनको दीर्घकालिन सोंचसहित हाँसिल गरेका उपलब्धि एवं प्रारम्भ गरेको निर्वाचन व्यवस्थापन तथा सञ्चालन सुधारको यात्रालाई अझ व्यवस्थित र परिस्कृत बनाउँदै निर्वाचन सम्पन्न गर्ने अठोटका साथ आयोगले निर्वाचनको तयारीलाई व्यापक बनाउँदै लगेको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले निर्वाचन प्रक्रियाको प्रस्थान बिन्दु मतदाता नामावलीलाई त्रुटिरहित, गुणस्तरीय र अद्यावधिक बनाउने कार्य तथा निर्वाचनमा मतदाताको सहभागिता र सहज पहुँचका निम्ति मतदानस्थल एवं मतदान केन्द्र सुरक्षित, व्यवस्थित र पूर्वाधार सुविधायुक्त बनाउने गरी पुनरावलोकन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

पहिलो पटक निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति स्वीकृत गरेको हुँदा त्यसबाट निर्वाचनमा विद्युतीय सञ्चार एवं सामाजिक सञ्जालको व्यापक उपयोग हुने आयोगले विश्वास व्यक्त गरेको छ । आसन्न निर्वाचनलाई आमसहभागितामा सम्पन्न गर्न राजनीतिक वातावरण तयार गर्ने कार्यमा सरकार, राजनीतिक दल, सार्वजनिक क्षेत्र, निजी क्षेत्र, सञ्चार जगत, नागरिक समाज, मतदातालगायत निर्वाचनका सबै सरोकारवालाको संलग्नता, सहयोग, समन्वय, सहकार्य र सहभागिता रहने छ भन्नेमा आयोग विश्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ ।

आगामी निर्वाचन पहिलो चरणमा वैशाख १७ गते प्रदेश नं २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका ४० जिल्ला र दोस्रो चरणमा बैशाख २७ गते  प्रदेश नं १, वाग्मती प्रदेश तथा कर्णाली प्रदेशका ३७ जिल्लामा हुँदैछ । आगामी निर्वाचनका लागि करीब एक करोड ६३ लाख मतदाता अद्यावधिक भएको र २० हजार मतदान केन्द्र रहने जनाइएको छ । निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको कुरा स्पष्ट गर्दै पाँचौं निर्वाचन दिवस २०७७ लाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण निकाय, सङ्घसंस्था तथा महानुभावप्रति आभार व्यक्त गरेको छ । (रासस) 

प्रकाशित मिति: ०७:२९ बजे, शुक्रबार, फागुन ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्