रक्सी र चुरोटसँगै पेप्सी र कोकाकाेलामा पनि कर बढाउने तयारी, के-केमा बढ्दैछ कर?
काठमाडौं, जेठ १४ : अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट निर्माणको अन्तिम चरणमा पुगेको समयमा केही वस्तुमा करको दर भारी वृद्धि गर्ने तयारी गरेका छन्। केह....
काठमाडौं, जेठ १४ : अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट निर्माणको अन्तिम चरणमा पुगेको समयमा केही वस्तुमा करको दर भारी वृद्धि गर्ने तयारी गरेका छन्। केही वस्तुमा कर बढाउने गरी अर्थमन्त्री खतिवडाले आर्थिक वर्ष २०७६-७७ को बजेट बुधबार संसदमा पेश गर्दैछन्।
बजेटमार्फत विलाशिताका वस्तुसहित सुर्तीजन्य पदार्थ तथा रक्सीमा कर वृद्धिको तयारी गरेका छन्। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म आइपुग्दा एक खर्ब रुपैयाँ राजश्व लक्ष्यअनुसार संकलन हुन सकेको छैन।
लोकप्रिय कार्यक्रम घोषणा गर्न बाध्य हुन लागेका अर्थमन्त्री खतिवडाले विभिन्न वस्तुहरुमा करको दर बढाउने तयारी गरेका हुन्। अघिल्लो वर्ष मोवाइल, कपडालगायतमा भ्याट फिर्ता कार्यक्रम बन्द गरेका थिए भने मोवाइलमा अन्तशुल्क समेत पाँच प्रतिशत कायम गरिएको थियो। यसवर्ष अन्तशुल्कमा केही बढाउने तयारी गरिएको अर्थस्रोतले जानकारी दिएको छ।
आगामी आर्थिक वर्षमा कर्मचारीको तलब बढाउने र वृद्धभत्ता बढाउने तथा अन्य लोकप्रिय कार्यक्रम घोषणा गर्नुपर्ने दबाबमा अर्थमन्त्री खतिवडा छन्। विशेषगरी चुरोट र रक्सीमा कर भारी मात्रामा बढाउने तयारी गरिएको अर्थ मन्त्रालय स्रोतको दाबी छ। स्वास्थ्यका दृष्टिले पनि रक्सी र चुरोटमा कर बढाउँदा विरोध नहुने भएकाले पनि कर बढाउन खोजिएको अर्थमन्त्रालय स्रोतको भनाइ छ।
सरकारले यसवर्ष हल्का पेय पदार्थमा समेत केही कर बढाउने तयारी गरेको छ। हल्का पेयपदार्थ भन्नाले कोककोला, पेप्सीलगायतमा समेत यसपटक कर बढाउने तयारी गरिएको हो। अघिल्लो वर्षदेखि नै राजस्व बढाउनको लागि भन्सारमा सन्दर्भ मूल्य लागू गरिएको छ।
जसले गर्दा कपडा, जुत्ता र झोलालगायत वस्तुको आयातमा कर बढेको छ। ‘विगतमा ठूला मानिस लगाउने पाइन्टसमेत बच्चाको भनेर भन्सारबाट छुटाइने गरेको थियो। यसवर्ष सबैमा कडाइ गरिएको छ,’ स्रोतले भन्यो।
अघिल्लो वर्ष सरकारले हटाएको स्वास्थ्य सेवा कर यसपटक फेरि ब्युँताउने तयारी भएको छ। अर्थमन्त्री खतिवडाले अघिल्लो वर्ष बजेटमार्फत स्वास्थ्य सेवा कर हटाएका थिए। स्वास्थ्य सेवा कर हटे पनि जनताले पाउने सुविधामा खासै परिवर्तन नभएपछि यसपटक फेरि कर लगाउने पक्षमा अर्थमन्त्री खतिवडा पुगेका छन्।
सरकारले गैरकरका दरहरु समेत बढाउने तयारी गरेको छ। मुख्य गरी सवारी दर्ताको शुल्क, सडक दस्तुर, घरजग्गा शुल्कलगायत शीर्षकहरु बढाउने तयारी गरिएको छ।
यसै वर्षदेखि करको दायराभन्दा बाहिर रहेका खुद्र किराना पसललाई समेत कडाईका साथ करको दायरामा ल्याउने तयारी गरिएको छ। बजेमार्फत होटेल तथा गेस्ट हाउसबाट पनि कडाईका साथ करको दायरामा ल्याउने योजना रहेको छ। ग्राहकलाई अनिवार्य भ्याटबिल होटल र गेस्ट हाउसले दिनुपर्ने व्यवस्था गर्न लागिएको छ।






