शिक्षकको हत्यामा पक्राउ परेका विप्लवका जिल्ला इन्चार्ज जेल चलान
मोरङ, फागुन ५ : मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज धनबहादुर विकलाई जेल...
मोरङ, फागुन ५ : मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्याको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका जिल्ला इञ्चार्ज धनबहादुर विकलाई जेल चलान गरिएको छ।
बुधबार मोरङ जिल्ला अदालतले हातहतियार तथा खरखजाना मुद्दामा विकलाई जेल चलानको आदेश दिएको हो। अदालतको आदेशसँगै बुधबार नै उनलाई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बुधबार भएको सुनुवाइमा जिल्ला अदालतकी न्यायाधीश दुर्गा खड्काको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।
संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटेका विकलाई बूढीगंगा गाउँपालिका ४ बाट माघ ७ गते पक्राउ गरिएको थियो। उनीमाथि शिक्षक श्रेष्ठको हत्याको आरोप लागेको थियो।
उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजाना, अपहरण र कर्तव्य ज्यानको छुट्टाछुट्टै मुद्दामा अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा फाइल बुझाएको थियो। सरकारी वकिलको कार्यालयले हातहतियार तथा खरखजाना मुद्दा दर्ता गरेको थियो।
उनलाई हातहतियार मुद्दामा पुर्पक्षका लागि जेल चलान गरिएको छ। त्यस्तै, अपहरण र कर्तव्य ज्यान मुद्दामा आइतबार बयान गराइने भएको छ।











