Kathmandu Press

कांग्रेसका शुभेच्छुकले भने– नेतृत्वको बाटो चित्तबुझ्दो

पछिल्लो राजनीतिक घटनाक्रम नियाल्दा सत्तारुढ नेकपामा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिने उनीहरूले बताएका छन् । तसर्थ अरू पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठबन्धन आवश्यक नरहेको उनीहरूको धारणा छ ।
कांग्रेसका शुभेच्छुकले भने– नेतृत्वको बाटो चित्तबुझ्दो

काठमाडौं, फागुन ५ : कांग्रेसका २५ जना शुभेच्छुकले केन्द्रीय कार्यसमितिका नाममा अपिल जारी गर्दै प्रतिनिधिसभा विघटनका सन्दर्भमा पार्टी नेतृत्वले लिएको बाटो चित्तबुझ्दो भएको बताएका छन् ।

पछिल्लो राजनीतिक घटनाक्रम नियाल्दा सत्तारुढ नेकपामा पार्टी विभाजन नभई मत विभाजनमा मात्रै रहेको देखिने उनीहरूले बताएका छन् । तसर्थ अरू पार्टीसँगको सहकार्य र राजनीतिक एजेन्डामा अन्तरपार्टी गठबन्धन आवश्यक नरहेको उनीहरूको धारणा छ ।

‘त्यसैले वर्तमान राजनीतिक घटनाक्रमका विषयमा कांग्रेस नेतृत्वले लिएको बाटो अधिकांश कार्यकर्तालाई चित्त बुझेको छ,’ अपिलमा भनिएको छ, ‘तर, विगतमा पार्टीले आयोजना गरेका विरोधसभाहरूमा केन्द्रीय समितिको निर्णय र पार्टीको धारणाभन्दा बाहिर गएर एकले अर्कोलाई प्रहार गर्नेगरी राखिएका धारणा पार्टी हितमा छैनन् ।’

आगामी दिनमा कांग्रेस नेताहरूले एकअर्कालाई आरोप–प्रत्यारोप गर्न बन्द गर्न उनीहरूले अपिल गरेका छन् । ‘कम्युनिस्टहरूले देश चलाउन नसकेर प्रतिनिधिसभा विघटनको अवस्थामा पुगेको अहिलेको परिस्थिति बुझेर कांग्रेसलाई एकढिक्का बनाउनेगरी केन्द्रीय समितिले आचारसंहित लागू गर्न पनि आवश्यक देखिन्छ,’ अपिलमा उल्लेख छ, ‘व्यक्ति बलियो हुने प्रवृत्तिलाई बिर्सिएर पार्टीका सबै नेतालाई एउटै मालामा गाँस्नु अहिलेको आवश्यकता हो ।’

अपिलमा कांग्रेसले इतिहासका प्रत्येक कालखण्डमा हरेक अप्ठ्यारो राजनीतिक परिस्थितिमा देशलाई सही मार्गनिर्देश गर्दै आएको उनीहरूले स्मरण गराएका छन् । पार्टी नेतापिच्छेका धारणाभन्दा केन्द्रीय समिति बैठकबाटै पार्टीको स्पष्ट दृष्टिकोण तय गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

अपिलमा विश्वदीप लामिछाने, शिव चालिसे, एलिजा ढकाल, ज्योती बोगटी थापा, तुल्सीराम भुसाल, सरोजश्री अधिकारी, हेमन्त बन, बुद्धराज रिसाल, तारा गौतम, राजन कटुवाल (केसी), देवेन्द्र बर्मा, राविश शर्मा, सुवास अर्याल, छिरिङ धुन्डुप शेर्पा, राजेस लुइँटेललगायतको हस्ताक्षर छ ।
 

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्