Kathmandu Press

एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

एक अर्ब राजस्व छलेको आरोपमा १३ जनाविरुद्ध मुद्दा

काठमाडौं, फागुन ४ : झुटा तथा नक्कली बिजक प्रयोग झण्डै एक अर्ब बराबरको राजस्व छली गरेको आरोपमा १३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानमा विभिन्न ११ वटा फर्मको बैंक खाता सञ्चान गरी १३ जनाले राजस्व छली गरेको पाइएको हो। । उनीहरूले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट)को बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेका विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए।

यस आर्थिक अपराधमा सर्लाहीको बलरा नगरपालिका–७ बस्ने मुख्य अभियुक्त सुबोध साहसहित १० र उनीहरूको मतियारको रुपमा अन्य तीन गरी १३ को संलग्नता रहेको विभागले जनाएको छ। उनीहरूले ९१ करोड ३० लाख ५६ हजार बिगो बराबरको राजस्व छली गरेको विभागले आरोप लगाएको छ।

यसमा अनुसन्धान सकी बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको महानिर्देशक मैनालीले जानकारी दिए।

मुख्य प्रतिवादी सुबोध साहसमेतले कर बिजकको कारोवार गर्ने सुरेन्द्र सहनी, सरोजकुमार मिश्र, कलिम अन्सारी, अवधेश पटेल, सुमनकुमार महतो, राजेश्वर महतो, इदा खातुन, हरिन्द्र राम र मोतीलाल सहनीसमेतको मिलेमतोमा ११ वटा फर्म खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजकमात्र किनेर मूल्य अभिवृद्धि कर र आयकरसमेत चुहावट गरेको विभागको अनुसन्धानमा खुलेको छ।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख), र (छ) बमोजिम कसुर गरेको विभागले जनाएको छ।

विभागले दायर गरेको मुद्दामा उक्त लेखापरीक्षणमा कागजात तयार गरी झुटा तथा नक्कली कर बिजकको कारोवार एवं लेखा परीक्षण प्रतिवेद तथा लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने लेखा परीक्षक कृष्णप्रसाद घिमिरे, दीपक निरौला र दीपककुमार कोइरालाविरुद्ध मुख्य अभियुक्तले पाउने सजायको आधार सजायको मागदाबी गरिएको छ। (रासस)

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्