Kathmandu Press

भारतले नाकामा रोक्यो पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर

झापा, जेठ १४ : भारतले पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई नाकामा रोकेको छ।

पूर्वि नेपालका लागि आउने ट्याङ्करलाई भारत....

भारतले नाकामा रोक्यो पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर

झापा, जेठ १४ : भारतले पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई नाकामा रोकेको छ।

पूर्वि नेपालका लागि आउने ट्याङ्करलाई भारतले पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेको हो। जसले गर्दा पूर्वि नेपालमा पेट्रोलियम पदार्थको अभाव भएको छ।

भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए। उनका अनुसार, अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै रोकेको हो।

पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा रोकिएका छन्। जसले गर्दा मेची अञ्चलका सबै पेट्रोल पम्प बन्द भएका छन्।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ। आयल निगमका अनुसार, मेचीका चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको छ।

सूचना अधिकृत पौडेलका अनुसार भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न सुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्याङ्करलाई रोकिराखेको छ।

कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्याङ्कर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको पौडेलले बताए। तर, भारतीय अधिकारीले मानेका छैनन्।

प्रकाशित मिति: १०:३९ बजे, मंगलबार, जेठ १४, २०७६