Kathmandu Press

वामदेवको गृहजिल्लामा मदन भण्डारी फाउन्डेसन भंग

७६ वटा जिल्लामा फाउन्डेसनमा फुट आएको छैन । तर, ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमकै गृहजिल्ला बर्दियामा फाउन्डेसन भंग भएको छ ।
वामदेवको गृहजिल्लामा मदन भण्डारी फाउन्डेसन भंग

काठमाडौं, फागुन ४ : तत्कालीन एमाले र हाल नेकपाभित्र आफू समर्थक नेता–कार्यकर्तालाई ‘इंगेज’ गर्ने प्रधानमन्त्री केपी ओलीको एक माध्यम हो, मदन भण्डारी फाउन्डेसन । ७७ वटै जिल्लामा फाउन्डेसनका शाखा छन् । ७६ वटा जिल्लामा फाउन्डेसनमा फुट आएको छैन । तर, ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरेका नेकपा उपाध्यक्ष वामदेव गौतमकै गृहजिल्ला बर्दियामा फाउन्डेसन भंग भएको छ ।

६ वर्षदेखि फाउन्डेसनको बर्दिया अध्यक्ष रहेका इन्द्रबहादुर रावलले जिल्ला शाखा भंग गरेका हुन् । फाउन्डेसनमा प्रधानमन्त्री ओली निकटस्थ नेता–कार्यकर्ता मात्र पदाधिकारी रहन्छन् । ‘प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्रीको कदममा सहमत हुन सकिएन,’ रावलले काठमाडौं प्रेससँग भने, ‘अहिलेको परिस्थितिमा उहाँलाई समर्थन गर्न सकिएन, त्यसैले फाउन्डेसनबाट अलग भयौँ ।’

प्रधानमन्त्रीले मनलाग्दी निर्णय गरेर नेपाली जनताको त्याग र तपस्याबाट प्राप्त संविधानको दुरुपयोग गरेको उनले बताए । ‘राजनीतिक लडाईं सकियो, अब समृद्धीको यात्रामा निस्किनुपर्छ भन्ने जनअपेक्षामाथि धावा बोलियो,’ रावलले भने, ‘२००७ सालमै स्वर्गीय पुष्पलाल श्रेष्ठले उठाउनुभएको संविधानसभाबाट संविधान बनाउने माग पूरा भए पनि प्रधानमन्त्रीको पछिल्लो निर्णयले संविधानमाथि नै कुठाराघात भयो । फेरि पनि जनतालाई आन्दोलनमा उत्रिनुपर्ने अवस्था आयो । प्रधानमन्त्रीको प्रतिगमनकारी कदमविरुद्ध उत्रिनुपर्ने अवस्थाका कारण उहाँलाई समर्थन नगर्ने भएपछि फाउन्डेसनमा अध्यक्षता गरिरहनुको कुनै अर्थ देखिनँ, तसर्थ भंग गरेँ ।’

फाउन्डेसनको बर्दिया जिल्ला शाखामा ३१ सदस्यीय समिति थियो । तीमध्ये अध्यक्ष रावल, उपाध्यक्ष र सहसचिवसहित १७ सदस्य अलग भएका छन् । बाँकी रहेका पदाधिकारीले पनि फाउन्डेसनको शाखा पुनर्गठन गरेका छैनन् ।

यसअघि फाउन्डेसनका केन्द्रीय सदस्य तथा नेकपा विभागीय सचिव दामोदर अर्यालले ओली समूह परित्याग गरेका थिए । उनी हाल प्रचण्ड–नेपाल समूहमा आबद्ध छन् । अर्याललाई ओली समूहले पार्टीको केन्द्रीय सदस्य पनि बनाएको थियो । तर, उनले उक्त पद स्वीकारेनन् ।
 

प्रकाशित मिति: १४:१५ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्