Kathmandu Press

नेपालमा रेल विस्तारमा लगानी गर्न रुस इच्छुक

काठमाडौं, फागुन ३ : रुसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ।सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगको भेटमा नेपालका लागि...
नेपालमा रेल विस्तारमा लगानी गर्न रुस इच्छुक

काठमाडौं, फागुन ३ : रुसले नेपालको रेल यातायातको क्षेत्रमा लगानी गर्ने इच्छा देखाएको छ।

सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँगको भेटमा नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले रेलको विस्तारमा लगानी गर्न सकिने बताएको हो। रुसी रेलवे कम्पनीका तर्फबाट मन्त्रालयमा आशयपत्र बुझाएको छ।

मन्त्री नेम्वाङले सोभियत युनियन विघटनपछि पछिल्लो समयमा दुई देशबीचमा समन्वय भएर कुनै काम नभए पनि सम्बन्ध सुमधुर रहेको बताए। काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र यातायात सहज बनाउन मेट्रो रेलको आवश्यकता रहेको उनले बताए।

उनले हाल मेट्रो रेलको रेखाङ्कन, पूर्वसम्भाव्यता अध्ययन र केही खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी भइसकेको उल्लेख गर्दै यी दस्तावेज रुसी पक्षलाई उपलब्ध गराउन तयार रहेको बताए।

मन्त्री नेम्वाङले रुसी पक्षबाट विस्तृत प्राविधिक र आर्थिक प्रतिवेदन प्राप्त भएपछि थप छलफल गर्न तयार रहेको बताए।

रुस र अन्य विश्वको विभिन्न मुलुकमा रेलसम्बन्धी त्यहाँको प्रविधि उत्कृष्ट रहेको उल्लेख गर्दै नेपालको लागि समेत कोशेढुङ्गा हुने प्रतिनिधिमण्डलले बताएको थियो। जापानले पहाडी क्षेत्रमा रुसी रेलवे प्रविधि अपनाएको उल्लेख गर्दै प्रतिनिधि मण्डलले नेपाललाई प्रविधि हस्तान्तरण गर्न तयार रहेको बताएको छ।

भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धबारे छलफल भएको थियो। रुसी महासङ्घको सहयोगमा निर्माण भएका विगतका परियोजना कान्ति अस्पताल, पनौती हाइड्रोइलेट्रिक स्टेसन, पूर्वपश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्ड, जनकपुर चुरोट कारखाना, कृषि औजार कारखाना, वीरगञ्ज सुगर मिललगायतका परियोजनाका विषयमा छलफल भएको थियो। (रासस)

प्रकाशित मिति: २०:३१ बजे, सोमबार, फागुन ३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्