Kathmandu Press

पुरानो छवि ब्युँताउने प्रयासमा सिनास

काठमाडौं, फागुन १ : त्रिभुवन विश्वविद्यालयमातहतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) आफ्नो पुरानो छवि ब्युँताउने प्रयासमा छ। पूर्वकार्यकारी निर्देशक कुमार खड्गबिक्रम शाहले सुरु गराएका धेरै कार्यक्रम पुनः सुरु गरेर सरकारी थिंकट्यांकका रूपमा पुनर्स्थापित हुने प्रयासमा छ, सिनास।
पुरानो छवि ब्युँताउने प्रयासमा सिनास

काठमाडौं, फागुन १ : त्रिभुवन विश्वविद्यालयमातहतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) आफ्नो पुरानो छवि ब्युँताउने प्रयासमा छ। पूर्वकार्यकारी निर्देशक कुमार खड्गबिक्रम शाहले सुरु गराएका धेरै कार्यक्रम पुनः सुरु गरेर सरकारी थिंकट्यांकका रूपमा पुनर्स्थापित हुने प्रयासमा छ, सिनास।

एक समय थियो, सिनासले ‘कन्ट्रिब्युसन टु नेप्लिज स्टडी’ नामक जर्नल प्रकाशित गर्थ्यो। ६-६ महिनामा प्रकाशित हुने यो जर्नलको ख्याति बेग्लै थियो। तर, यो सन् १९८७ देखि प्रकाशन हुन सकेको थिएन। अहिले त्यसलाई पुनः प्रकाशनको तयारीमा सिनास छ। यस्तै, ‘नेपाल अध्ययन’ शीर्षकमा नेपाली भाषामा पनि जर्नल प्रकाशनको तयारी पनि छ।

कुमार खड्गबिक्रम शाहकै पालामा सिनासले ‘स्ट्राटेजिक स्टडिज सिरिज’ प्रकाशित गर्थ्यो। शाहले सिनास छाडेसँगै त्यसको पनि प्रकाशन बन्द भएको थियो। पहिलो अंकमा पाकिस्तानका पूर्वराष्‍ट्रपति स्वर्गीय मोहम्मद जियाउल हक र तेस्रो अंकमा भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको अन्तर्वार्ता प्रकाशित भएको थियो। अहिले राष्‍ट्रपति विद्यादेवी भण्डारीको अन्तर्वार्तासहित उक्त सिरिज पुनः सुरु हुँदैछ।

नेपाल र चीनबीचको सम्बन्ध अहिले फरक ढंगबाट अगाडि बढेको सन्दर्भलाई राष्‍ट्रपति भण्डारीसँगको अन्तर्वार्ताको मुल विषय बनाइएको छ। ‘राष्‍ट्रपति भण्डारीको अन्तर्वार्ताबाट पहिलेको शैलीलाई पछ्याउन खोजिएको हो,’ सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्की भन्छन्।

नयाँ सिरिजमा चीनका तीनजना प्राध्यापक, त्रिविको ‘अन्तर्राष्‍ट्रिय सम्बन्ध विभाग’का शिक्षकहरूको संयुक्त आर्टिकल, सिनासका कार्यकारी निर्देशक डा. कार्कीको आर्टिकल, चिनियाँ राष्‍ट्रपति सी जिनपिङको पुस्तक ‘गभर्नेन्स अफ चाइना’को समीक्षा, राष्‍ट्रपतिका सल्लाहकार लालबाबु यादवको ‘सब्मिट डिप्लोमेसी’सम्बन्धी आर्टिकल र डा. चन्द्रदेव भट्टको आर्टिकल समेटेर सिरिज प्रकाशित हुँदैछ।

कुमार खड्गबिक्रम शाह कार्यकारी निर्देशक छँदा सिनासले अफ्रिकाबाहेक एक सय १२ वटा देशसँग आफ्ना प्रकाशन आदानप्रदान गर्थ्यो। र, सिनासका प्रकाशनहरू विदेशका ख्यातिप्राप्त विश्वविद्यालयमा पुग्थे। पछिल्लो समय त्यो खुम्चेर ५७ मुलुकका प्राज्ञिक संस्था, थिंकट्यांकसँग मात्र आदानप्रदान भइरहेको छ।

कुमार खड्गबिक्रम शाहले सुरु गरेका अन्तर्राष्‍ट्रिय डेस्कहरू सिनासले ब्युँताएको छ। उनी ०४० देखि ०४५ सालसम्म सिनासको कार्यकारी निर्देशक थिए। र, उनकै पहलमा सिनासमा सार्कका तत्कालीन सातवटै मुलुकका डेस्क स्थापना भएका थिए। १९ जेठ ०५८ को दरबार हत्याकाण्डमा कुमार खड्गबिक्रम पत्नी शारदासहित मारिएका थिए।

तत्कालीन राजा वीरेन्द्रको सोचअनुसार स्थापना भएको थिंकट्यांक हो, सिनास। र, सीधा राजाको सल्लाहकारको भूमिकामा थियो यो थिंकट्यांक।

उक्त संस्थाको पहिलो कार्यकारी निर्देशक डा. प्रयागराज शर्मा थिए। त्यसपछि मानवशास्त्री स्वर्गीय डोरबहादुर बिष्‍ट कार्यकारी निर्देशक बने। त्यसपछि दरबारले सीधै कुमार खड्गबिक्रमलाई उक्त पदमा नियुक्ति दिलायो।

शर्मा, बिष्‍ट र शाहका पालामा सिनासको हैसियत उच्च रहेको मानिन्छ र स्रोत, साधनबाट युक्त पनि। त्यतिबेला एसियाका गिनेचुनेका थोरै थिंकट्यांकमध्ये एक मानिन्थ्यो, सिनास।

०४६ सालको परिवर्तनपछि बनेका कार्यकारी निर्देशकहरूले ती अन्तर्राष्‍ट्रिय डेस्कप्रति बेवास्ता गरिदिए। त्यसयता अवकाश पाउन लागेका प्राध्यापकहरूलाई लगेर थन्क्याउने थलो बन्यो सिनास। ०४६ सालअघि एसियाका ‘टप थ्री’ थिंकट्यांकमा गनिने संस्था अहिले एसियाका करिब ६ सय थिंकट्यांकको सूचीमा ६३औँ स्थानमा छ। नीति निर्माण, अन्तर्राष्‍ट्रिय सम्बन्ध र राजनीतिक प्रक्रियामा सरकारको सल्लाहकारको भूमिकामा सिनासलाई पुर्‍याउने लक्ष्‍यका साथ काम थालिएको डा. कार्की बताउँछन्। त्रिविअन्तर्गतको यो संस्था सीधा भूराजनीतिसँग जोडिन्छ।

पञ्‍चायतको उत्कर्षमा पनि कुमार खड्गबिक्रमले तत्कालीन कांग्रेस र कम्युनिस्टका नेताहरूलाई बोलाएर खुला बहस र छलफल चलाउँथे। शेरबहादुर देउवा, दमननाथ ढुंगाना, होमनाथ दाहाललगायत प्रजातन्त्रवादी व्यक्तित्वलाई बोलाएर बहस चलाइन्थ्यो। सिनासमा भएका अध्ययन-अनुसन्धानलाई त्रिविमा कोर्स बनाएर अध्यापन गराइन्थ्यो।

उक्त संस्थाको पुनर्जीवनका लागि सरकारले पाँच करोड रुपैयाँको कोष उपलब्ध गराएको छ। उक्त रकम राष्‍ट्रिय वाणिज्य बैंकको खातामा राखेर वार्षिक ५५ लाख रुपैयाँ ब्याज पाउने व्यवस्था मिलाइएको छ। त्यसमध्ये पाँच प्रतिशत कर, १० प्रतिशत त्रिभुवन विश्वविद्यालय, १० प्रतिशत सिनासकै इन्डोमेन्ट फन्डमा राख्नुपर्छ। बाँकी ७५ प्रतिशतबाट सिनासले गतिविधि गरिरहेको छ।

डबल डिग्री कार्यक्रम त्रिविसँग माग गरिएको छ। त्यो भनेको त्रिविसहित अन्य मुलुकको विश्वविद्यालयबाट पनि विद्यार्थीले डिग्री पाउने छन्। त्रिवि पदाधिकारीले त्यसमा हुँदैन भनेका छैनन् तर अनुमति दिएका पनि छैनन्। अन्य मुलुकका विश्वविद्यालयसँग समन्वय गरेर डबल डिग्री कार्यक्रम चलाउने योजना हो यो। र, ‘वर्ल्ड र्‍यांकिङ’मा त्रिविलाई अझ माथि पुर्‍याउन त्यस्तो कार्यक्रमले सहयोग पुर्‍याउने डा. कार्की बताउँछन्।

सरकारले उपलब्ध गराएको रकमको ब्याजबाट मानवशास्त्री डोरबहादुर बिष्‍ट, प्रयागराज शर्मा, धनबज्र बज्राचार्य र कुमार खड्गबिक्रम शाहको नाममा एक-एक लाख रुपैयाँका फेलोसिप वितरण गरिएको छ। र, विद्यावारिधि गर्दै गरेका एक विद्यार्थीलाई एक लाख रुपैयाँको फेलोसिप प्रदान गरिएको छ। थप सातजनासँग जर्नल आर्टिकलका लागि सम्झौता भयो। यस्तै, सिनासका १० जनालाई पनि यसमा सहभागी गराइयो। तर, १ साउन ०७६ मा सूचना प्रकाशित गरेर २२ जना छनोट भए पनि हालसम्म कसैले आर्टिकल बुझाएका छैनन्।

‘त्यसबाट प्राज्ञिक एक्स्पोजर हुन्थ्यो। यो अनिच्छा किन छ हामीमा भनेर अर्को अध्ययन आवश्यक देखिएको छ,’ कार्यकारी निर्देशक डा. कार्की भन्छन्।

यस्तै, बेलायतको ‘इकोनोमिक एन्ड सोसल रिसर्च काउन्सिल’बाट विश्वव्यापी प्रतिस्पर्धा जितेर सिनासले ‘एजुकेसन एज एन्ड फर एपस्टिमिक इन्भाइरन्मेन्टल एन्ड ट्रान्जिसनल जस्टिस टु इनेबल सस्टेनेबल डेभेलपमेन्ट’ कार्यक्रम हात पारेको छ। यस प्रतिस्पर्धामा पेरु, युगान्डा, सिनास र बेलायतको बाथ विश्वविद्यालय सहभागी थिए।

यस्तै, ‘स्मल स्टेट’सम्बन्धी जर्नल प्रकाशित गर्ने तयारी सिनासको छ। ‘चीन र भारतको बीचमा भएकाले नेपाललाई स्मल स्टेट भनियो। नेपालमा पनि त्यही छाप पर्‍यो,’ डा. कार्की भन्छन्, ‘युरोपमा भएको भए स्मल स्टेटको रूपमा नेपाललाई होच्याइँदैनथ्यो। नेपालजस्तै भूपरिबेष्‍ठित र स्मल स्टेट भन्‍ने गरिएका भुटान, म्यानमार, मंगोलियालगायत मुलुकलाई त्यसमा समेटिनेछ। त्यसमा नेपालकै आर्टिकल धेरै हुने छन्।’

प्रकाशित मिति: ०९:५७ बजे, आइतबार, फागुन २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्