एक सय दिनको रोजगारीका लागि निवेदन संकलन शुरु

काठमाडौं, फागुन १ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीका लागि आजदेखि निवेदन सङ्कलन शुरु भएको छ।
न्यून आय भएका वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास गरेको स्थानीय तहको सम्बन्धित वडा कार्यालयमा फागुन मसान्तसम्म निवेदन दिन सक्नेछन्।
सूचीकृत बेरोजगारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम एक सय दिनको रोजगारी प्राप्त गर्नेछन्। न्यूनतम रोजगारी प्रदान गरी विपन्न तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने सहयोग पुर्याउने उद्देश्यका साथ सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा ल्याएइको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्पूर्ण स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बेरोजगार व्यक्ति सूचीकरणका लागि परिपत्र गरेको छ। बेरोजगार व्यक्तिका र निजका परिवारको यथार्थ र सम्पूर्ण विवरण सङ्कलन गरी वास्तविक लक्षित वर्ग केन्द्रित कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाउन श्रम मन्त्रालयले आग्रह गरेको छ।
यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने न्यूनतम रोजगारीले गरीब तथा जीवनयापन जोखिममा परेका वर्गलाई सामाजिक सुरक्षा र संरक्षण प्रदान हुने मन्त्रालयले जनाएको छ।











