विस्फोटनमा मर्ने नागरिक हैनन् : गृहमन्त्री थापा
काठमाडौं, जेठ १३ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हिजाे काठमाडौंमा भएका विस्फोटमा नागरिककाे मृत्यु नभएकाे बताएका छन्।
आ....
काठमाडौं, जेठ १३ : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले हिजाे काठमाडौंमा भएका विस्फोटमा नागरिककाे मृत्यु नभएकाे बताएका छन्।
आज प्रतिनिधिसभा बैठकमा विस्फोटबारे जानकारी दिँदै गृहमन्त्री थापाले विस्फाेटमा नागरिकको मृत्यु नभएको बताएका हुन्। ‘बिस्फोटमा चार जनाको मृत्यु भएको छ। झन्डै आधादर्जन घाइते भएका छन्,’ गृहमन्त्री थापाले भने, ‘कुनै नागरिकको मृत्यु भएको छैन। त्यो (विप्लव) समूहसँग सम्बद्ध कार्यकर्ताहरूको मृत्यु भएको छ। जो घाइते छन्, अधिकांश यो समूहसित नै सम्बद्ध छन् ।'
गृहमन्त्री थापाले सासद्हरुले उठाएका प्रश्नकाे जवाफ दिँदै दाेहाेर्याए, 'ती सामान्य नागरिक हैनन् । ती जनता हैनन् । ती घटना घटाउनेहरू हुन् । ती दुबै ठाउँ सुकेधाराको होस् वा घट्टेकुलोको, बम बनाउने क्रममा नै उनीहरूका केही प्राविधिक त्रुटी भए । त्योसँग सम्बन्धितको त्यहाँ ज्यान गएको छ । अहिलेसम्मको अनुसन्धानले त्यही पुष्टि भएको छ ।'
गृहमन्त्री थापाले गिरफ्तार भएका पनि ती प्रमाणसहित नै गिरफ्तार भएकाे जानकारी पनि दिए । उनले भने, 'गैरकानूनी र अपराधिक क्रियाकलापसँग सम्बन्धित व्यक्ति थिए । त्यसकारण तिनीहरूलाई हामी जनता भन्दैनौँ । शब्दको चयनमा त्यहाँ कमी हुनसक्छ ।'
गृहमन्त्री थापाले जानकारी दिए, 'आज पनि ठाउँठाउँमा विष्फोट भएका छन्, कतिपय ठाउँमा फेक हुकहरू राखिएका छन् । यसरी शान्ति र स्थायित्वलाई प्रभाव पार्ने ढंगका गतिविधिहरू सञ्चालन गर्दै आइरहेका छन् ।'
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले बम विस्फोट गराउँदा गएराति चार जनाको मृत्यु भएको थियो। विस्फोटमा आठ जना घाइते भएका थिए।
प्रतिनिधिसभाको बैठकमा जानकारी दिँदै गृहमन्त्री थापाले विप्लवलाई वार्तामा ल्याउन प्रयास भइरहेको बताए। विप्लवले गरेको गतिविधि संविधानविपरीत भएको जिकिर गर्दै त्यसलाई नियन्त्रण गरिने उनको भनाइ थियो।
विप्लवको आन्दोलन राजधानी केन्द्रित रहेकाे जानकारी दिँदै भने, 'हिजो र आज यी गतिविधिको निरन्तरता देख्दै आएका छौँ । देशव्यापी रूपमा आगजनी र विष्फोट गर्ने । उनीहरूको मूल निशाना उपत्यका बनेको छ। संविधानविपरीतगतिविधि राज्यको नियन्त्रण गर्छ, यसका लागि सरकार प्रतिवद्ध रहेको छ।’
नेकपाको विप्लव समूहले जनसरकारको रुपमा जनपरिषद् भन्ने संस्था गठन गरेकाे र जनसेनाको रुपमा चार कम्पनी निर्माण गरेकाे गृहमन्त्री थापाले प्रतिनिधिसभालाई जानकारी दिए । उनले भने, 'यो सबै गतिविधिको नेतृत्व गर्न नेकपा भन्ने नामको पार्टी पनि गठन गरेका छन् । केही वर्षयता सशस्त्र गैरकानूनी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् । गत संघ, प्रदेश र स्थानीय तहको चुनावमा पनि उनीहरूका गतिविधि देख्यौँ । भ्रष्टाचारविरुद्ध भनेर उनीहरूले एनसेलका टावरहरू विष्फोट गरेका पनि हामीले देख्यौँ ।'
विप्लवसँग सरकारको साँठगाँठ त छैन भन्ने विपक्षीकाे प्रश्न सम्बाेधन गर्दै भने, 'यी प्रश्न नाजायज प्रश्न हुन् । उल्टाएर हेर्दा कतै यी प्रश्नको तिनीहरूसित सम्बन्ध त छैन ?'
सरकारले विप्लव समूहलाई शान्तिपूर्ण रुपमा वार्ताद्वारा समस्याको हल गर्नुपर्ने कुरा सुरुदेखि भन्दै आएको बताउँदै भने, 'अहिले हामीले लगाएको प्रतिबन्ध उनीहरूका क्रियाकलापमाथि हो । जसले कानून मिच्छ, हामी त्यसलाई अपराधी भन्छौँ । त्यो सामान्य जनता हुँदैन ।'






