ठाउँठाउँमा बम, कतै आगजनी त कतै पेट्रोल बम प्रहार
काठमाडौैं, जेठ १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशभर परेको छ। बन्दका क्रममा जनजीवन त्रसित पार्....
काठमाडौैं, जेठ १३ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको प्रभाव देशभर परेको छ। बन्दका क्रममा जनजीवन त्रसित पार्न कतै सवारी साधानमा आगजनी गरिएको छ भने कतै बम विस्फोट गरिएको छ।
विप्लवका कार्यकर्ताले सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ। गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु जाँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा आज बिहान आगजनी गरेका हुन्।
प्रत्यक्षदर्शीका अनुसार, उनीहरू हतियारसहित आएका थिए। बस चालक र यात्रुलाई ओरालेर आगजनी गरेको हुन्। बस जलेर क्षति भएको छ।
त्यस्तै, विप्लवका कार्यकर्ताले मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, आज बिहानै हेटौँडा चौकीटोलस्थित रोकेर राखिएको ना ७ ख ९४९६ नम्बरको ट्रकमा आगजनी गरेको हुन्।
त्यसैगरी थाहा नगरपालिका–१ कन्छाल नजिक कुले खोलामा गए राति काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ८००७ नम्बर ट्रकमा आगजनी गरेका छन्। गुडिरहेको अवस्थामा नै ट्रकमा पेट्रोल बम प्रहार गरिएको प्रहरीले जनाएको छ।
मकवानपुरको बुद्धनगरमा बम राखिएको छ। नेपाली सेनाको टोली निष्कृय पारिरहेको प्रहरीले जनाएको छ।
यसैगरी विप्लवका कार्यकर्ताले नवलपरासीको मध्यबिन्दु नगरपालिका–११, स्थित राजमार्गमा सिमेन्ट बोकेर नारायणगढतर्फ जाँदै गरेको लु २ ख १०८ नम्बरको ट्रकमा पेट्रोल बम प्रहार गरेका छन्। पेट्रोल बम प्रहार गर्दा ट्रक अनियन्त्रित भई सडकबाट पाँच मिटर तल खसेको छ।
ट्रक चालक तनहुँ ब्यास नगरपालिका–४, बस्ने ३३ वर्षीय अमर विक घाइते भएका छन्। उनको ढाड र अनुहारमा आगोले पोलेको छ। घाइते विकको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यस्तै आज बिहान ३ः३० बजेको समयमा कावासोती नगरपालिका–१६, स्थित पूर्व पश्चिम राजमार्गमा बा ३ च ९३ नम्बरको जीपमा पेट्रोल बम प्रहार गर्दा जीपमा सामान्य क्षति भएको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
नवलपरासीकै बुलिङटार गाउँपालिकामा विस्फोटका लागि खेतमा राखिएको सिलिण्डर प्रहरीले नियन्त्रणमा लिएको छ।
गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकोटीको घरदेखि तीन सय मिटरको दूरीमा खेतमा सिलिण्डर राखी आगो लगाएको अवस्थामा सिलिण्डर पड्किनु पूर्वनै प्रहरीले सो सिलिण्डर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए।
बन्दकै क्रममा विप्लवका कार्यकर्ताले पोखराको सिर्जनाचोक र फिर्केचोकको बीचमा एनसेल कार्यालय नजिक, दरबारमार्गस्थित एक पार्टी प्यालेसनजिक र नारेश्वरचोकस्थित सडकको पेटीका बम राखेका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, तीनै क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। बम निष्कृय पार्न नेपाली सेनाको टोली खटिएको छ।
यस्तै, बागलुङ बजारको कुडुले चोकमा आज बिहानै बम भेटिएको छ। त्यहाँ पनि बम निष्कृय पार्न नेपाली सेनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार, पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ मुसेखोलामा पनि आज बिहानै बम भेटिएको छ। स्थानीय बासिन्दाले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यहाँ रहेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ।
विप्लवको बन्दको प्रभाव देशभरी परेको छ। लामो दूरीका सार्वजनिक सवारी साधान चलेका छैनन्। त्यस्तै, शैक्षिक संस्था, कलकारखाना बन्द रहेका छन्।
काठमाडौंमा पनि बन्दको प्रभाव परेको छ। सवारी साधान नियमित चलेका छैनन्। सार्वजनिक सवारी साधन पनि कमै मात्रामा चलेका छन्।






