Kathmandu Press

सत्ता पक्ष पेलेर अघि बढ्ने र प्रतिपक्षी संसद अवरोध गर्ने तयारीमा

काठमाडौं, माघ ११ : डा.गोविन्द केसीसँग भएको सम्झौता विपरित सत्ता पक्षले आज संसद् बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने भएको छ ।

अ....

 सत्ता पक्ष पेलेर अघि बढ्ने र प्रतिपक्षी संसद अवरोध गर्ने तयारीमा

काठमाडौं, माघ ११ : डा.गोविन्द केसीसँग भएको सम्झौता विपरित सत्ता पक्षले आज संसद् बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्ने भएको छ ।

अपराह्न १ बजे बस्ने संसद् बैठकमा सरकारको तर्फबाट शिक्षामन्त्री गिरिराजमणि पौडेलले चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची संसद् सचिवालयले तयार गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले भने आफ्ना दुई नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल प्रदेशलाई दिने सरकारको निर्णय सच्चाउन माग गर्दै संसद अवरोध गर्ने भएको छ ।

यता कांग्रेसलेनै चिकित्सा शिक्षा विधेयक डा.केसीसँग यसअघि वर्तमान सरकारले गरेको लिखित सम्झौता अनुसारनै हुनुपर्ने अडान पनि राख्दै आएको छ ।

कांग्रेसले सत्ता पक्षले बलजफ्ती विधेयक पेश गरे संसद अवरोध गर्ने भएको छ । यसअघिको संसद बैठक पनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो ।

सरकारले विधेयक अघि बढाए संसद् प्रक्रिया अघि बढ्न नदिने रणनीतिमा बनाएको छ ।

डा.केसीले आफुसँग भएको सहमति अनुरुप विधेयक संसदमा पेश गर्न माग गर्दै १७ दिनदेखि अनशनरत छन् । यद्यपी सरकारले डा.केसीसँग संवाद गरेको छैन ।

कांग्रेसले संसद अवरोध गर्ने तयारी गरेपछि सरकारले संसद् भवनमा सुरक्षा बढाएको छ भने संसद् भवनभित्र पनि मर्यादापालकको संख्या बढाइएको छ । आजै डा.केसीका समर्थकहरुले पनि संसद् भवन अगाडी प्रदर्शन गरेर सामुहिक गिरफ्तारी दिने तयारी गरेका छन् ।

प्रकाशित मिति: ११:४० बजे, शुक्रबार, माघ ११, २०७५