घट्टेकुलो र सुकेधारा बम विष्फोटनमा विप्लव समूहकै संलग्नता!
काठमाडौं, जेठ १२ : काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको विष्फोटको घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकै संलग्नता रहेको आशंका गरिएको ....
काठमाडौं, जेठ १२ : काठमाडौंको घट्टेकुलो र सुकेधारामा भएको विष्फोटको घटनामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकै संलग्नता रहेको आशंका गरिएको छ।
आइतबार अपरान्ह घट्टेकुलो र सुकेधारामा भएका छुट्टाछुट्टै विष्फोटमा परी तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। घाइते हुनेमा एक जना विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
घट्टेकुलोमा भएको विष्फोटमा परी विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रविन केसी घाइते भएका छन्। उनी त्रिचन्द्र कलेजमा विप्लव माओवादीको विद्यार्थी संगठनका इकाई अध्यक्ष रहेको पनि खुलेको छ।
घटनास्थलमै विप्लव नेतृत्वको नेकपाको भोलिको बन्द सफल पारौं लेखिएको पर्चासमेत फेला परेको डिएसपी बोगटीले बताए। विप्लव समूहको पर्चा भेटिइएको र विष्फोट गराउँदा कार्यकर्ता घाइते भएको आशंका प्रहरीको छ।
घट्टेकुलोमा घरभित्रै बम पड्काइएको अनुसन्धानबाट खुलेको डिएसपी बोगटीले बताए। आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जेठ १३ गते नेपाल बन्दको आह्वान गरेको छ।






