यस वर्षको कोरियन भाषा परीक्षाका सहभागीले थाहा पाउनैपर्ने चार नयाँ व्यवस्था
काठमाडौं, जेठ १२ : यस वर्षको कोरियन भाषा परीक्षा (ईपीएस) यही जेठ २५ र २६ गते हुँदैछ। यो परीक्षामा ९२ हजार २ सय ५६ जना सहभागी हुँदैछन्।
....
काठमाडौं, जेठ १२ : यस वर्षको कोरियन भाषा परीक्षा (ईपीएस) यही जेठ २५ र २६ गते हुँदैछ। यो परीक्षामा ९२ हजार २ सय ५६ जना सहभागी हुँदैछन्।
यस वर्षको परीक्षामा सहभागी हुन आवदेन दिएकामध्ये सबैभन्दा बढी उत्पादनतर्फ छन्। उत्पादनतर्फ ६३ हजार ४ सय ८७ जना छन् भने कृषितर्फ २८ हजार ८ सय ८६ जना मात्रै छन्।
आवेदन दिनेमा महिलाभन्दा पुरुष झण्डै पाँच गुणा बढी छन्। आवेदन दिनेमध्ये ७७ हजार ३ सय ९३ पुरुष छन् भने महिलाको संख्या १४ हजार ९ सय ८३ मात्रै छ।
यो पटक गत वर्षभन्दा १० हजार १ सय १२ बढी आवेदन परेको वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले जनाएको छ। ईपीएस शाखाका निर्देशक कृष्णप्रसाद खनाल भन्छन्, ‘कोरियामा कमाई राम्रो हुने भएकोले अन्य देशभन्दा आकर्षण बढेको हो।’
यसपालिको परीक्षामा केही नयाँ नियमहरू पनि लागु गरिएको छ।
कोरियनले नै सीप परीक्षा लिने
सन् २०१२ देखि २०१६ सम्म कोरियन भाषा र सीपको परीक्षा सँगै हुने गर्थ्याे। सीप परीक्षण सम्बन्धी नयाँ नीति ल्याउने भन्दै कोरियाले सन् २०१७ र सन् २०१८ मा सीपको परीक्षा लिएन। यस वर्षदेखि भने कोरियाले फेरि भाषासँगै सीप परीक्षा पनि लिँदैछ।
ईपीएस शाखाका अनुसार, यस वर्षदेखि नयाँ तरिकाले सीप परीक्षा लिइँदैछ। विगतमा जस्तो भाषा र सीप परीक्षा सँगै हुँदैन। भाषा परीक्षामा पास भएकाले मात्र सीप परीक्षामा सहभागिता जनाउन पाउने छन्।
यसैगरी, यसपालि सीप परीक्षामा कोरियाली प्रतिनिधिहरू पनि हुनेछन्। पहिले कोरियाली प्रतिनिधिहरू हुँदैन थिए।
सीप परीक्षणमा पास नहुनेले कोरिया जान पाउँदैनन्। सीप परीक्षामा पास भएकाले मात्र कोरियामा रोजगारीका लागि आवेदन फाराम भर्न पाउने ईपीएस शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले काठमाडौं प्रेसलाई बताए।
चिट गर्नेले ३ वर्षसम्म परीक्षा दिन नपाउने
भाषा परीक्षामा चिट गर्ने नेपालीले ३ वर्षसम्म कोरियाली भाषा परीक्षामा आवदेन दिन नपाउने ईपीएस शाखाले जनाएको छ। तीन वर्ष पुगिसकेपछि पनि ‘म अबदेखि चिट गर्दिनँ’ भनेर लिखित प्रतिबद्धता जाहेर गरेपछि मात्रै भाषा परीक्षामा सहभागी हुन पाउने छन्। यसअघि कोही चिट गर्दागर्दै भेटिए उसको त्यही वर्षको परीक्षा मात्रै रद्द हुन्थ्यो। अर्को वर्ष भने परीक्षा दिन पाउँथ्यो।
सीसी क्यामेराको निगरानी
यस वर्ष पहिलोपटक सीसी क्यामेराको निगरानीमा परीक्षा हुन लागेको ईपीएस शाखाले जनाएको छ।
नतिजा छिट्टै आउने
यस वर्ष गत वर्षभन्दा चाँडै भाषा परीक्षाको नतिजा आउने ईपीएस शाखाले जनाएको छ। गत वर्ष परीक्षा दिएको २ महिनापछि मात्रै नतिजा आएको थियो। यस वर्ष दुई सातापछि नै नतिजा आउनेछ। यही जेठ २५ र २६ गते हुन लागेको परीक्षाको नतिजा असारको १३ गते आउने ईपीएस शाखाका सूचना अधिकारी भण्डारी बताउँछन्।
ईपिएस शाखाले यो वर्षको परीक्षाका लागि परीक्षा केन्द्रहरू तोकिसकेको छ। आगामी जेठ १९ गते परीक्षार्थीको सिट प्लालिङ हुने शाखाले जनाएको छ।












-(7)-1765197040.jpg)