आइसीसी वर्ल्ड कप क्रिकेट-२०१९ : कसले जित्ला उपाधि ?
आइसीसी वर्ल्ड कप क्रिकेट–२०१९ को उपाधि कसले जित्ला? यो प्रश्न–आइसीसी वर्ल्ड कप क्रिकेटका सहभागी सबै १० टिमका क्याप्टेनलाई सोधियो....
आइसीसी वर्ल्ड कप क्रिकेट–२०१९ को उपाधि कसले जित्ला? यो प्रश्न–आइसीसी वर्ल्ड कप क्रिकेटका सहभागी सबै १० टिमका क्याप्टेनलाई सोधियो। सबैले यस पटकको विश्वकप क्रिकेट प्रतिस्पर्धी हुने बताए। आयोजक बेलायतलाई सबै क्याप्टेनले बलियो टिम मानेका छन्।
एरन फिञ्च, कप्तान, अष्ट्रेलिया
‘केही वर्षदेखि बेलायत गज्जबको फर्ममा छ। भारतसँग निकै उत्कृष्ट खेल खेलेको छ। मेरो विचारमा बेलायत नै सबैको प्रिय टिम हो।’ अष्ट्रेलिया सन् २०१५ को विश्वकप विजेता हो। डेभिड वार्नर र स्टिभ स्मिथलाई टिममा उनले स्वागत पनि गरेका छन्। विश्वविजेताको ताज ‘डिफेन्ड’ गर्न टिमले निकै मेहेनत गर्नेछ।
‘वार्नर र स्मिथ टिममा फर्किएपछि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। टिममा उनीहरूको धेरै योगदान दिएका छन्। अविश्वसनीय आत्मविश्वास छ। खासगरी बेलायतविरूद्धको खेलमा र एशेजमा पनि, दर्शकले भूमिका खेल्नेछन्। तर यस्तो विश्वमा जता पनि हुन्छ। त्यसका लागि हामीले तयारी गरेका छौं। उनीहरूको टिम र जति रन उनीहरूले बनाए, एकदमै उत्कृष्ट छ,’ फिञ्चले भने।
विराट कोहली, कप्तान, भारत
विश्वमा जता गए पनि हाम्रो ‘फ्यान बेस’ ठूलै हुन्छ। तर, म एरनसँग सहमत छु। मेरो विचारमा बेलायत यो ‘टुर्नामेन्ट’ कै बलियो टिम हो। म मोर्गसँग पनि सहमत छु। सबै दश टिम नै सन्तुलित र एकदमै बलिया छन्।
यो ‘टुर्नामेन्ट’मा सबैले सबैसँग एक पटक खेल्नैपर्ने भएकाले पनि थप चुनौती छ। मेरो विचारमा यो ‘टुर्नामेन्ट’ उत्कृष्ट पक्ष हो। यस पटकको वर्ल्ड कप क्रिेकेटप्रेमीले हेरेको सबैभन्दा प्रतिस्पर्धी विश्वकप हुनेछ।
ओइन मोर्गन, कप्तान, बेलायत
बेलायती ‘स्किप्पर’ ओइन मोर्गन भन्छन्,‘कोहीभन्दा कोही कम छ जस्तो मलाई लाग्दैन। यो विश्वकै दश उत्कृष्ट टिम हो। यो असाधारण रूपले प्रतिस्पर्धी हुनेछ र गुणस्तरीय खेल खेलिनेछ। हामी विश्वकपलाई लिएर आशावादी छौं।’
‘यहाँ बसेका सबै क्याप्टेन क्रिकेटको उद्गमस्थलमा विश्वकप खेल्न चाहन्छन्। हामी सबैले बाल्यकालदेखि यही सपना देखेका छौं। हामी सक्दो उत्कृष्ट तयारी गरेका छौं। हामीलाई खेल खेल्न हतार भएको छ,’ मोर्गनले भने।
फाफ डु प्लेसिस, कप्तान, दक्षिण अफ्रिका
दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलसम्म चार पटक पुगेको छ। डु प्लेसिस टिमलाई विश्वकपको जिताउने पहिलो व्यक्ति बन्न चाहन्छन्।
उनी भन्छन्,‘यो नयाँ टुर्नामेन्टमा खेल्न हामी एकदमै उत्साहित छौं। सबैसँग एक पटक खेल्नु गज्जब हुन्छ जस्तो लाग्छ। हाम्रो स्रोत कसरी प्रयोग गर्छाैं त्यो महत्वपूर्ण हुन्छ। सबै टिमसँग एक्स–फ्याक्टर बलर हुन्छ। टिमको सफलतामा उनीहरूको ठूलो हात हुन्छ।’
‘मेरो विचारमा बलरहरूले खेल जित्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने टिम नै टुर्नामेन्टको अन्त्यसम्म बाँकी रहनेछन्।’
सरफराज अहमद, कप्तान, पाकिस्तान
सन् २०१७ मा बेलायतमा भएको आइसिसि च्याम्पियन्स ट्रफी पाकिस्तानले जितेको थियो। ‘स्किप्पर’ सरफराज अहमदले पाकिस्तानी टिमको नेतृत्व गरेका थिए। यसपटक पनि ढुक्क रहेको उनले बताए।
‘सबै टिम साँच्चिकै सन्तुलित छन्। मेरो विचारमा मानिसहरूले निकै राम्रो क्रिकेट हेर्न पाउनेछन्। सन् १९९२ को वर्ल्डकप, सन् १९९९ मा बेलायतमा फाइनलसम्म पुगेको र सन् २०१७ मा च्याम्पियन्स ट्रफी जितेपछि, हामी बेलायतसँग राम्ररी परिचित छौं। त्यसैले हामीले राम्रो प्रदर्शन गर्नेछौं र चुनौती दिनछौं भन्ने विश्वास छ,’ सरफराजले भने।
केन विलियमसन, कप्तान, न्यूजिल्यान्ड
चार वर्षअघि न्यूजिल्यान्डले ‘रनर अप’मा चित्त बुझाउनु परेको थियो। कप्तान केन विलियमसन यस पटक टिमले उत्कृष्ट प्रदर्शन गर्नेमा आशावादी छन्।
‘अघिल्लो वर्ल्ड कप खेलेका केही खेलाडी टिममा छन्। यो बलियो पक्ष हो। तर, बीचको चार वर्षमा धेरै नयाँ खेलाडी आएका छन्। र्याङ्किङ्, फेभरेट, अन्डरडग लगायत धेरै हल्ला चलेको छ। तर यस्को सुन्दर पक्ष भनेको यो सन्तुलित छ। यसको अर्थ खेलको दिन जे पनि हुनसक्छ, जुन एकदमै उत्साहजनक छ।
जेसन होल्डर, कप्तान, वेस्ट इन्डिज
जेसन होल्डरले भने,‘यसको ढाँचा एकदमै रोमाञ्चक छ। पहिले ५–६ ओटा खेल खेल्नुपर्थ्यो। सबैसँग खेल्नु हाम्रा लागि राम्रो हो। यहाँसम्म आइपुग्न हामीले क्वालिफायरमा धेरै मेहनत गरेका छौं। यसको यहाँ विश्वका शीर्ष दश टिम उपस्थित छन्। हामी सबैसँग खेल्न चाहन्छौं र एकदमै धेरै मेहनत गर्नेछौं। विजयी टिम वास्तवमै योग्य हुनेछ।’
दिमथ करूणारत्ने, कप्तान, श्रीलंका
श्रीलंकाका नयाँ कप्तान दिमथ करूणारत्ने भन्छन्,‘हामीसँग बेलायतमा धेरै अनुभव छ। यहाँको हावापानी अनुकूल बन्न हामी चाँडै आयौं। हामी तन्दुरूस्त छौं। उत्कृष्ट प्रदर्शन गर्ने आशा छ। यो प्रतियोगिता सजिलो हुने छैन। हामी विश्वस्त छौं र हरेक खेललाई एक–एक गरि खेल्नेछौं।’
गुल्बदिन नाइब, कप्तान, अफ्गानिस्तान
‘यहाँ क्रिकेटको विश्वसामु आउन पाउँदा र उत्कृष्ट टिमसँग खेल्न पाउँदा हामी निकै उत्साहित छौं। अफ्गानिस्तानलाई विश्वमा चिनाउनु ठूलो कुरा हो र हामी निकै आशावादी पनि छौं। देशका सबै प्रान्तमा विशाल दर्शकले हेरिरहेका हुनेछन्। अहिले क्रिकेट खेल मात्रै होइन, अफ्गानिस्तानमा यसले अर्कै स्वरूप लिएको छ।’
मशरफे मुर्तजा, कप्तान, बंगलादेश
‘टिममा गज्जबका खेलाडी छन्। सिनियर र जुनियरको राम्रो मिश्रण छ। क्रिकेट यस्तो खेलो जसमा बलियो दिन हुनेले जसलाई पनि जित्नसक्छ। सुरूआत राम्रो गर्नसक्यौं भने हामी यहाँ रहनेछौं। हामीले राम्रो खेल्नेछौं भन्नेमा विश्वस्त छौं तर सुरूवातमा धेरै कुरा भरपर्छ,’ मुर्तजाले बताए।
लन्डनको ‘ट्रेन्डी’ इस्ट एन्डस्थित फिल्म शेडमा सबै दश जना कप्तानलाई सन् २०१९ को विश्वकप अघि भेला गरिएको थियो। आयोजक बेलायतले मे ३० तारिख ओभलमा दक्षिण अफ्रिकाविरूद्ध पहिलो खेल खेलेर विश्वकप आरम्भ गर्नेछ। भारतले जुन ५ मा ह्याम्पशायर बाउलमा दक्षिण अफ्रिकाविरूद्ध खेलेर अभियानको प्रारम्भ गर्नेछ।
(एजेन्सीको सहयोगमा)