ओलीलाई पशुपतिले पनि धिक्कार्नेछन् : माधवकुमार नेपाल
नेकपा (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र लोकतन्त्रलाई कुल्चिएका प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि धिक्कार्ने बताएका छन्।काठमाडौं, माघ २८ : नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र लोकतन्त्रलाई कुल्चिएका प्रधानमन्त्री केपी ओलीलाई पशुपतिनाथले पनि धिक्कार्ने बताएका छन् ।
‘ओलीजी पहिले मदन भण्डारीको नाम जप्नु हुन्थ्यो, अहिले पशुपतिनाथको माला जप्न थाल्नुभएको छ,’ प्रदर्शनीमार्गमा आयोजित सभामा नेपालले भने, ‘तर, उहाँलाई पशुपतिनाथले पनि माफी दिने छैनन्, धिक्कार्ने छन् ।’
ओलीले सत्ता सम्हालेको तीन वर्षमा सात हजार १७० नेपाली चेलाीहरू बलात्कृत भएको तथ्यांक उनले अगाडि सारे । ‘ती चेलीहरूले सोधिरहेका छन्, ओलीजी कतिजनालाई कारवाही गर्नुभयो, कतिजनालाई जेल हाल्नुभयो,’ नेपालले भने, ‘उनीहरूको आत्माले भनिरहेको छ, तिम्रो असंवेदनशीलता देखेर हामीलाई लाज लागिरहेको छ । संघर्षबाट प्राप्त लोकतन्त्र पनि समाप्त पार्न तिमी लागिरहेका छौ ।’
विराटनगर, बुटवल, धनगढी र सुर्खेतका विशाल जनसभा प्रधानमन्त्रीले देख्न नसकेको उनले बताए । सरकारी खर्चमा दरबारमार्गमा सभा आयोजना गर्दा पनि कमजोर जनसहभागिता देखेर ओली समूह भने निराश बनेको उनले बताए ।
नेकपाका केन्द्रीय सदस्यमध्ये तीन सयजना आफूहरूको पक्षमा रहेको उल्लेख गदै नेपालले बहुमतको निर्णय मान्ने निर्वाचन आयोगको तयारीमा हस्तक्षेप गर्न ओली लागिपरेको आरोप लगाए ।











