गणतन्त्र दिवसमा राष्ट्रपतिले संविधानसभाका १०३७ सदस्यलाई विशेष तक्मा दिने
काठमाडौं, जेठ ११ : राष्ट्रपति कार्यालयले गणतन्त्र दिवशमा संविधानसभाका सदस्यलाई सम्मानस्वरुप विशेष तक्मा दिने तयारी गरेको छ । गणतान्त्रिक नेपालको नेपाल....
काठमाडौं, जेठ ११ : राष्ट्रपति कार्यालयले गणतन्त्र दिवशमा संविधानसभाका सदस्यलाई सम्मानस्वरुप विशेष तक्मा दिने तयारी गरेको छ । गणतान्त्रिक नेपालको नेपालको संविधान लेखी विशेष योगदान पुर्याएको भन्दै त्यस्तो पदक दिन लागेको हो।
स्रोतका अनुसार, सुन, चाँदी जस्ता बहुमूल्य धातुबाट बनेको उक्त तक्माको मध्यभागमा नेपालको संविधान (पुस्तक) को तस्विर अंकित हुनेछ । गोलाकार पदकको वरिपरि ७७ जिल्लाको प्रतीक स्वरुप ७७ वटा तारा रहेन छन्, जुन सुनबाट बनेका हुनेछन्।
त्यस्तै, पुस्तकको तल्लो भागमा सात वटा थोप्ला राखिएका छन् । ती सुवर्ण सात थोप्ला सात प्रदेशको प्रतीकका रूपमा राखिएका हुन्।
यस्तो पदक पाउने विघटित संविधानसभा सदस्यको सङ्ख्या १०३७ रहेको छ । पहिलो संविधानसभाका ६०१ र दोस्रो संविधानसभाका ६०१ गरी जम्मा १२०२ रहे पनि १६५ जना दोस्रो संविधानसभामा पहिलेका सदस्य नै दोहोरिएका थिए । विघटित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पहलमा उक्त पदक दिन थालिएको स्रोतको दाबी छ।
संसद् सचिवालय स्रोतका अनुसार, गणतन्त्र दिवसमा वितरण गर्न डिजाइन गरिएको तक्माकै आधारमा संसद् सचिवालयले संविधानसभा सदस्यलाई विशेष लोगो बनाइदिने तयारी पनि गरेको छ । अहिले संसद् सचिवालयले संविधानसभा सदस्यलाई दिएको लोगो फलामजस्तो कमसल धातुले बनेको भन्दै असन्तुष्टि व्यक्त भइरहेको छ तर अब बन्ने लोगो भने कम्तिमा पनि चाँदीको हुने स्रोतले जनाएको छ।
यसैबीच विघटित संविधानसभा सदस्यहरूले छुट्टै संस्था खोलेका छन् । तत्कालीन एमालेबाट मकवानपुरबाट विजयी अनन्त पौडेलको संयोजकत्वमा गठित ‘संविधान सभा सदस्य परिषद्’ मा सबै दलका सदस्य रहेका छन्। संस्थाका अन्य पदाधिकारीमा नेपाली काँग्रेसकी ईश्वरी न्याैपाने र सीता गुरुङ तथा नेकपाका डाेरप्रसाद पाैडेल रहेका छन् ।
संविधानका कुनै पनि विवादित विषय आएमा, तीन तहका सरकारबीच अधिकारको द्वन्द्व भएमा त्यस्तो फुकाउन यस संस्थाले काम गर्ने पनि संयोजक पौडेलले जानकारी दिए । अहिले तदर्थ समिति गठन भएको उक्त संस्थाले आगामी असोज ३ गते संविधान दिवसको अवसर पारेर नयाँ नेतृत्व निर्वाचित गर्ने पनि पौडेलले जानकारी दिए।