एसिड आक्रमणमा परेकी आरती प्रदेश-२ मुख्य न्यायाधीवक्ता कार्यालय सहयोगी नियुक्त
काठमाडौं, माघ २८ : जनकपुरमा एसिड आक्रमणमा परेकी आरती शाहलाई प्रदेश-२ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले कार्यालय सहयोगी नियुक्त गरेका छन्।काठमाडौं, माघ २८ : जनकपुरमा एसिड आक्रमणमा परेकी आरती शाहलाई प्रदेश-२ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले कार्यालय सहयोगी नियुक्त गरेका छन्।
अभियन्ता उज्ज्वलबिक्रम थापाको पहलमा उनलाई रोजगारी दिने निर्णय भएको झाले जानकारी दिए। ‘आरतीको शैक्षिक योग्यताका आधारमा आगामी साउनदेखि बहाल हुने गरी कार्यालय सहयोगी नियुक्त गर्ने निर्णय गरिएको छ,’ मुख्य न्यायाधीवक्ता झाले काठमाडौं प्रेससँग भने।
आरतीलाई गत २२ कात्तिकमा उनकै श्रीमान् जनकपुर उपमहानगरपालिका-२० का सञ्जीव शाहले एसिड आक्रमण गरेका थिए। माइतीमै बस्दै आएकी आरतीलाई शाहले आक्रमण गरेका थिए।
अभियन्ता थापाका अनुसार एसिड आक्रमणमा परेका दुई-तीनजनालाई मात्र रोजगारी दिलाउन बाँकी छ। एसिड आक्रमणमा परेका रामराजा थापालाई काठमाडौंस्थित महान्यायाधीवक्ताको कार्यालयमा कार्यालय सहायक पदमा नियुक्ति दिलाइएको छ।
‘तीनजना बहिनीलाई कुमारी बैंकमा मार्केटिङ अफिसर, दुईजनालाई आयल निगममा कार्यालय सहायक नियुक्त गराएका छौँ,’ थापाले भने। कार्यालय सहयोगीका रूपमा नियुक्त भएका पीडितले मासिक करिब १९ हजार रुपैयाँ तलब पाउने छन्। कुमारी बैंकमा नियुक्ति पाएकाहरूलाई ६ महिनापछि स्थायी बनाइने व्यवस्थापनले बताएको थापाले जानकारी दिए।