Kathmandu Press

ठेक्का सम्झौताको दुई वर्षपछि तीन अकासे पुलको निर्माण सुरु 

ठेक्का सम्झौताको दुई वर्षपछि तीन अकासे पुलको निर्माण सुरु 

काठमाडौं, माघ २७ : चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकासे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि सुरु हुन लागेको छ । छ स्थानमा अकासे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।     

चीन सरकारको आर्थिक सहयोगमा निर्माण भएको सो सडकमा नेपाल सरकारले एक÷एक किलोमिटरको दूरीमा पर्ने गरी छ स्थानमा अकासेपुल निर्माण सुरु गरेको थियो । महालक्ष्मीस्थान, बल्खु र सानेपामा अहिले यी पुलको डिजाइन सच्याएर निर्माण अघि बढाइरहेको योजनाका प्रमुख अर्जुन सुवालले बताए । उनका अनुसार निर्माण व्यवसायीका कारणले नभएर यी पुल निर्माण सडक विभाग र योजना कार्यालयकै कारण ढिलाइ भएको हो । यी पुलको निर्माण एउटै कम्पनीमार्फत भइरहेको छ ।     
     
डिजाइनको समस्या हटाइएकाले अब लामो समय नलाग्ने उहाँले बताउनुभयो । गत महिनामा अवधि सकिएको भए पनि पुल निर्माणमा थप छ महिना थपिएको छ । उनले भने,  ‘असार मसान्तसम्ममा नै पुल निर्माण भइसक्ने देखिएको छ ।’ यसअघि नै सातदोबाटो, बालकुमारी र एकान्तकुनामा पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसकेको छ ।     

चीन सरकारको सहयोगमा निर्माण भएको सो सडकमा पहिले तीन स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने गरी डिजाइन तयार भएको थियो । सोही आधारमा चिनियाँ कम्पनीले कोटेश्वर, ग्वार्को र बागडोल गरी तीन स्थानमा पुलको निर्माण गरेको थियो । आठ लेन चौडाइको सो सडकमा सवारी साधनको गति उच्च हुने भएकाले पैदल यात्रुका लागि थप अकासे पुलको आवश्यकता भएको भन्दै विभागले थप छ स्थानमा पुल निर्माण अघि बढाएको थियो ।     
     
चीन सरकारले सडक हस्तान्तरणपछिको एक वर्ष मर्मत अवधि चलिरहँदा विभागले पुल निर्माण शुरु गरेको थियो । चक्रपथको पहिलो खण्डमा कम सङ्ख्यामा पुल भएकाले समस्या भएकाले विभागले विस्तारको क्रममा रहेको चक्रपथको दोस्रो खण्ड (कलङ्कीबाट गोपीकृष्ण हल अगाडिसम्म) प्रत्येक एक किमिमा एउटा अकासे पुलको प्रस्ताव गरेको छ । झण्डै १० किमि लम्बाइको सडकमा नौ अकासे पुल निर्माण गर्ने गरी डिजाइन भएको छ ।–रासस   
   
 

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, माघ २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्