अध्ययनले भन्छ- बौद्धिक व्यक्तिले बढी मद्यपान गर्छन्
सायद धेरै पाकेको वा कुहिएको फल खाएपछि मदिराको आविष्कार भएको होला।
चिनी ‘फर्मेन्ट’ हुँदा ‘इथानोल’ उत्पादन हुन्छ। तर, यस्ता फलमा &lsquo....
सायद धेरै पाकेको वा कुहिएको फल खाएपछि मदिराको आविष्कार भएको होला।
चिनी ‘फर्मेन्ट’ हुँदा ‘इथानोल’ उत्पादन हुन्छ। तर, यस्ता फलमा ‘इथानोल’को मात्रा एकदमै कम पाँच प्रतिशत जति हुन्छ। यसलाई कुनै ‘लाइट’ बियरसँग तुलना गर्न सकिन्छ। सामान्यतया, ‘अल्कोहल’को मात्रा बियरमा ४ प्रतिशत, वाइनमा १२ देखि १५ प्रतिशत र ‘डिस्टिल्ड स्पिरिट्स’मा २० देखि ९५ प्रतिशत हुन्छ।
त्यसपछि, ‘मेसोपोटामिया’मा पहिलो पटक उत्पादन भएको बियर र वाइनले स्थान जमायो। इ.सं ७०० ताका मध्यपूर्व वा चीनमा पाइएका ‘डिस्टिल्ड स्पिरिट्स’ अलि आधुनिक मदिरा हुन्। मद्यपानको सम्बन्धमा रोचक कुरा के छ भने मानव व्यवहारको विकासक्रममा यसलाई उद्विकासको नवीन खोज र बलियो बौद्धिक क्षमताको संकेत मानिन्छ। पछिल्लो उदाहरणले पनि यसलाई पुष्टि गरेको छ।
लन्डन स्कूल अफ इकोनोमिक्समा ३९ वर्ष उमेर समूहका मानिसहरूको अध्ययन गरिएको छ। विश्वविद्यालयमा अध्ययन नगरेकाहरूको तुलनामा उच्च शैक्षिक डिग्री लिएका महिलाले दैनिक दोब्बर मदिरा पिउने गरेको देखिएको छ।
पुरूषको सवालमा पनि यो लागू हुन्छ। अध्ययनमा ७१ प्रतिशत महिला धेरै जसो दिनमा मद्यपान गर्न चाहने देखिएको छ। ४९ प्रतिशत शिक्षित पुरूषले मद्यपान गर्ने सम्भावना बढी देखिन्छ।
उद्विकास सम्बन्धी मनोविद् सातोसी कानाजावाले प्रतिपादन गरेको ‘साभान्ना–आइक्यु इन्टरएक्सन हाइपोथेसिस’ अनुसार विशेषगरी कम बौद्धिकका लागि ‘होमो सेपियन्स’को विकासक्रममा नभएका परिस्थिति सामना गर्न हाम्रो मष्तिष्कलाई कठिनाइ हुन्छ। उद्विकाससँगै आउने नयाँ समस्या समाधान गर्नुपर्ने आवश्यकताको परिणामको आधारमा सामान्य बौद्धिकता बढ्दै गएकाले यस्तो भएको हो।
अगाडि उल्लेख गरिएजस्तै मदिरा उत्पादन दश हजार वर्र्षअघि सुरू भएको हो। बाल्यकालको बौद्धिक क्षमता (१६ वर्षअघिको उमेर) र उनीहरूको २०, ३० र ४० को दशकमा मद्यपान गर्ने नियमितताबीच सहसम्बन्ध भएको डा. कानाजावाले पुष्टि गरेका छन्। संयुक्त अधिराज्यको नेसनल चाइल्ड डिभेलोप्मेन्ट स्टडी (एनसिडिएस) ले उपलब्ध गराएको जानकारी उनले विश्लेषण गरेका थिए।
परीक्षणमा ‘धेरै बोधो’ बताइएका बालबालिकाको तुलनामा ‘धेरै तेज’ विद्यार्थी भनेर पहिचान गरिएका बालबालिकाले २०, ३० र ४० को दशकको उमेरमा बढी मद्यपान गरेको चित्रले देखाउँछ। बाल्यावस्थाको बौद्धिकतालाई पाँच ‘संज्ञानात्मक समूह’मा विभाजन गरिएको छ।
‘आइक्यु’७५ भन्दा थोरै भएकोलाई ‘धेरै बोधो’, ७५ भन्दा धेरै तर ९० भन्दा कम ‘आइक्यु’ भएकालाई ‘बोधो’, ९० भन्दा धेरै तर ११० भन्दा कमलाई ‘सामान्य’, ११० भन्दा धेरै तर १२५ भन्दा कमलाई ‘तेज’, र १२५ भन्दा धेरै ‘आइक्यु’ हुनेलाई ‘धेरै तेज’ भनेर वर्गिकरण गरिएको छ।
तल देखाइएको चित्र अनुसार ‘धेरै बोधो’ मानिएका बालबालिकाभन्दा बुद्धिमान बालबालिकाले ८० प्रतिशत धेरै मदिरा सेवन गरे।
अमेरिकीको सवालमा पनि उस्तै नतिजा देखिएको छ। बाल्यावस्थामा तेजिलाहरूले किशोरावस्थामा बढी मद्यपान गरे। तलको चित्रले नेसनल लङगिच्युडिनल स्टडी अफ एडोलोसेन्ट हेल्थले अमेरिकामा गरेको अध्ययनको नतिजा देखाउँछ।
वैज्ञानिकहरूले धेरै बाह्य कारणबारे पनि विचार गरेका छन्। उनीहरूले बालबालिकाको सामाजिक वर्ग र आमाबाबुको शिक्षालाई पनि विश्लेषण गरे। बुद्धिमानहरूले धेरै मद्यपान गरेपनि उनीहरूको सामाजिक हैसियतसँग यसको कुनै सम्बन्ध नरहेको अनुसन्धाताहरूले पत्ता लगाएका छन्। उनीहरूले लिएको ‘महत्वपूर्ण काम’ सँग पनि यसको कुनै सम्बन्ध छैन। उनीहरूको बौद्धिकताले नै बढी मदिरा उपभोग भएको हो।
यो अवधारणाको अर्काे प्रमाण फिनल्यान्डको अनुसन्धान पनि हो। उक्त अध्ययनमा तीन हजार सहोदर र जुम्ल्याहाको परीक्षण गरिएको छ। सबैभन्दा पहिले बोल्नेले नै पहिले मदिरा पिउने र किशोरावस्थामा धेरै मद्यपान गर्ने अध्ययनले देखाएको छ। शाब्दिक सीप सामाजिक बौद्धिकतासँग जोडिएको छ। त्यसैले धेरै बोल्ने जुम्ल्याहाका साथीभाइ पनि धेरै थिए। मद्यपान गर्ने परिस्थितिमा संलग्न हुने सम्भावना पनि उत्तिकै बढी थियो।
छिटो बोल्नु जीवनको उत्तर्राद्धमा बालबालिकाले उच्च शैक्षिक नतिजा ल्याउने संकेत पनि हो। तर, उच्च शिक्षा हासिल गर्ने कार्य अत्यधिक मद्यपानसँग जोडिएको छ। बौद्धिकता उत्सुकता र नयाँ अनुभवको प्रेमसँग जोडिनु नै यसको कारण भएको अनुसन्धाताहरूले जनाएका छन्। उनीहरूका अनुसार बाल्यकालमा संज्ञानात्मक कार्यसम्पादन र पढ्ने क्षमता उत्तेजना खोज्ने उच्च प्रवृत्तिसँग सम्बन्धित छ।
अन्तिममा, ‘स्मार्ट’ व्यक्ति वाइन पिउन चाहन्छन्। सन् १९५० देखि १९९० को दशकसम्म डेनमार्कमा करिब दुई हजार पुरूषको ‘आइक्यु’ र उनीहरूको मद्यपान गर्ने व्यवहार परीक्षण गरिएको छ। उमेर बढ्दै गएसँगै युवा वयस्कको उच्च ‘आइक्यु’ र वाइन सेवनबीच सम्बन्ध भएको वैज्ञानिकहरूको निष्कर्ष छ।
‘आइक्यु’ उच्च भएका झण्डै ४० प्रतिशत र न्युनतम ‘आइक्यु’ भएका मात्रै १३ प्रतिशत पुरूषले वाइनलाई प्राथमिकता दिए। व्यक्तिको पारिश्रमिक, शिक्षाको स्तर, सामाजिक अवस्था र बौद्धिकतासँग मद्यपान सम्बन्धित भएको निष्कर्ष निकाल्न सकिन्छ।