Kathmandu Press

सरकारको  प्राथमिकतामा ठूला पूर्वाधार निर्माण 

सरकारको  प्राथमिकतामा ठूला पूर्वाधार निर्माण 

कास्की, माघ २६ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको  सरकारले ठूला पूर्वाधार निर्माणमा प्राथमिकता दिएको बताएका छन्।

पोखरा महानगरपालिका–१३ र मादी गाउँपालिका–५ जोड्ने गरी पोखरा सिक्लेस सडकखण्डको विजयपुर खोलामाथि नवर्निमित पक्की मोटरेबल पुलको आज उद्घाटन गर्दै उनले पुल, सडकलगायत ठूला पूर्वाधार विकासका माध्यमबाट जनतालाई सुविधा दिन सरकार प्रतिबद्ध रहेको बताए।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा बनाउने अभियानभित्रको महत्त्वपूर्ण पक्ष भौतिक पूर्वाधारलाई सरकारले प्राथमिकता दिएको बताउँदै उनले विगतमा वर्षौंसम्म बन्न नसकेका विकास आयोजना वर्तमान सरकार आएपछि तीव्र गतिमा अघि बढेको उल्लेख गरे।

राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी राजमार्ग १०–१२ वर्षअघि शुरुआत भए पनि अहिले आएर धमाधम काम भइरहेको भन्दै मन्त्री नेम्वाङले आगामी विसं २०८० भित्रमा निर्माण गरिसक्ने गरी काम अघि बढाइएको स्पष्ट पारे।

उनले भने, ‘विकास आयोजनामा अधिकतम चासो र बजेट लगानी गरेर समयमै सम्पन्न गर्न सरकारले ध्यान दिएको छ । पोखरा खण्डमा देखिएको राजमार्गको विवादसमेत काठमाडौँ गएर छिटो निराकरण गर्छौं।’     

मध्यपहाडी राजमार्गसहित, मदन भण्डारी राजमार्र्ग, हुलाकी, राजमार्ग, सुरुङमार्गलगायत ठूला पूर्वाधार र पूर्व पश्चिम राजमार्गलाई स्तरोन्नति गरी काँकडभिट्टादेखि गड्डाचौकीसम्म नै फराकिलो बनाउने योजना शुरु भएको मन्त्री नेम्वाङले जानकारी दिए । यसअघि एक वर्षमा ३० देखि ३५ मोटरेबल पुल बन्ने गरेकामा वर्तमान सरकार बनेपछि एकै वर्षमा ५५३ मोटरेवल पुल निर्माण गरिएको उल्लेख गर्दै उनले डेढ दिनमा एउटा पुल बन्ने गरेको जिकिर गरे।

मुलुकको कायापलट गर्दै जनताको सर्वाङ्गीण विकासका लागि कम्युनिष्ट पार्टीको निर्माण भएको भन्दै उहाँले गत निर्वाचनमा जनताको अभिमत स्थिरता र स्थायित्वका लागि रहे पनि पार्टीभित्रबाट सरकारलाई समस्यामा पार्ने काम गरिएको बताए।

प्रकाशित मिति: १९:३४ बजे, सोमबार, माघ २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्