सेती लोकमार्ग : ११ वर्षमा १३० किलोमिटर ट्र्याक, २२९ किलाेमिटरमा कहिले ?
कैलाली, माघ २५ : कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै...
कैलाली, माघ २५ : कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा क्षेत्रको उरै भञ्ज्याङ (ताक्लाकोट सीमा नाका) जोड्ने सडक हो सेती लोकमार्ग । यो लोकमार्गको निकै चर्चा हुने गर्छ । बर्सेनि पर्याप्त बजेट विनियोजन नहुँदा झन्डै ३५९ किलोमिटर लामो यो लोकमार्ग निर्माण सुरु भएको ११ वर्षमा १३० किलोमिटर मात्र ट्र्याक खुलेको छ ।
कैलालीको भागमा छ दशममलव पाँच किलोमिटर लामो भागमा कालोपत्रेको काम गरिएको छ । कालोपत्र गरिएका अन्य राजमार्गका सडकखण्डसँग यो लोकमार्गको झण्डै २० दशमलव पाँच किलोमिटर सडकखण्ड मिसिएको छ ।
अछामको साँफेबगर बजारदेखि घुघुरकोटसम्मको १० दशमलव पाँच किलोमिटर र बझाङको तमैल बजारदेखि चैनपुरसम्मको १० किलोमिटर लामो यो सडक अन्य राजमार्गका सडकखण्डसँग मिसिएको छ । मिसिएका सडकखण्ड कालोपत्र हुँदा (ओभरल्यापको हिसाब गर्दा) सेती लोकमार्गको अहिलेसम्म जम्मा २७ किलोमिटर कालोपत्र भएको जनाइएको छ । बीस दशमलव पाँच किलोमिटर लामो भागमा ग्राभेल गर्ने कार्य भएको छ ।
चैनपुरदेखि कैलालीको टीकापुरसम्मको झण्डै २४२ किमि लामो सेती लोकमार्ग सडकखण्डमध्ये डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएको कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी छ । बझाङको चैनपुरस्थित सेती लोकमार्ग आयोजना कार्यालयका सूचना अधिकारी विष्णुराज खातीले पर्याप्त बजेट नहुँदा निर्माणको काम सुस्त रहेको बताए ।
‘चैनपुरदेखि उरै भञ्ज्याङसम्मको भागमा भौगोलिक विकटतासँगसँगै वर्षायाममा वर्षाको र जाडो याममा हिमपातको समस्या हुँदा पनि निर्माण कार्यमा समस्या भइरहेको छ,’ खातीले भने, ‘वर्षभरीमा छ महिना मात्र काम गर्न सकिने भए पनि बजेट पर्याप्त नहुँदा काम सुस्त छ ।’
चैनपुरदेखि ताक्लाकोटसम्मको झण्डै ११७ किलोमिटर खण्डमध्ये ३५ किमीको भागसम्म मात्र ट्र्याक खोलिएको छ । बयासी किमीको भागमा ट्र्याक खोल्न बाँकी छ । यो भागमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) को काम पूरा भए पनि ६७ किलोमिटर लामो भागमा वातावरणीय प्रभाव मूल्याङ्कनको काम हुन बाँकी छ । सेतीका पाँच जिल्ला कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाकालाई जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्व बोकेको सडक पनि हो ।–रासस











