Kathmandu Press

पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

तनहुँ, माघ २५ : पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गरेका छन्। पार्टीको...
पूर्वऊर्जामन्त्री पुनद्वारा तनहुँ जलविद्युत् आयोजना निरीक्षण

तनहुँ, माघ २५ : पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको शनिबार निरीक्षण गरेका छन्। पार्टीको कार्यक्रममा सहभागी हुन दमौली पुगेका पुनले आयोजनाको निरीक्षण गर्दै हालसम्मको प्रगतिबारे चासो व्यक्त गरेका हुन्।

आफ्नो कार्यकालमा तनहुँ जलविद्युत् आयोजनालाई प्राथमिकता दिएको बताउँदै पूर्वमन्त्री पुनले तोकिएकै समयमा आयोजनाको काम सम्पन्न गर्नेतर्फ ध्यान दिन आग्रह गरे। सो अवसरमा आयोजना प्रमुख अच्युत घिमिरेले पूर्वमन्त्री पुनलाई आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी गराएका थिए। आयोजनाको प्याकेज दुईअन्तर्गत सिनो हाइड्रो कम्पनीले यतिबेला काम गरिरहेको छ। सिनो हाइड्रोले विद्युत्गृह, मुख्य प्रवेश सुरुङ, सर्ज ट्याङ्क जाने सुरुङ, बाँधस्थल जाने सुरुङ खन्ने कार्य जारी राखेको छ।

प्याकेज दुईअन्तर्गत सिनोले क्याम्प, ब्याचिङ तथा क्रसिङ प्लाण्ट, ल्याब, क्लिनिक, स्टोर, उपकरणकक्ष आदि पूर्वाधारको स्थापना, केबल सुरुङ, विद्युत्गृहको पाइलट सुरुङ, पहुँच सडक खन्ने कार्य सम्पन्न गरेको छ। प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि केइसी इन्टरनेशनलले काम गरिरहेको छ। आयोजनाको प्याकेज दुईअन्तर्गत करिब एक अर्ब रुपैयाँ खर्च भएको छ। त्यस्तै प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रु तीन करोड खर्च भएको छ। आयोजनाले प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले त्यसको प्रक्रियालाई समेत अगाडि बढाइसकेको छ। टावर राख्नका लागि ५३ व्यक्तिको जग्गा अधिग्रहण गर्नुपर्ने भएको छ।

प्रसारण लाइन निर्माणका लागि तनहुँ र चितवनतर्फका वन क्षेत्रमा पर्ने रुखहरु कटान हुनेछन्। तनहुँतर्फ ३० हेक्टर वन क्षेत्रको रुख कटान गर्नुपर्ने र त्यसका लागि फाइल वन विभागमा पठाइएको छ। दमौलीबाट भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले पाएको छ। चालु आर्थिक वर्षमा प्रसारण लाइनका लागि ३० टावर निर्माण गरिनेछ। 

आयोजनाका लागि १४० मिटर बाँध, एक हजार १६२ मिटर र ७४ मिटरको मुख्य सुरुङ, ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ४४ मिटर उचाइ भएको भूमिगत विद्यृत्गृह निर्माण गरिनेछ। खुद उचाइ १२१ मिटर रहने आयोजनाबाट सुक्खायामा १७८।९० मेगावाट र वर्षायाममा ३२३।६८ मेगावाट ऊर्जा उत्पादन गर्नेछ। आयोजनाको कूल लागत ५०५ मिलियन अमेरिकी डलर (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) रहेको छ। जाइकाले दोस्रो प्याकेजअन्तर्गतका कामका लागि १८४ मिलियन डलर व्योहोर्ने छ।

प्रकाशित मिति: ११:०१ बजे, आइतबार, माघ २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्