वर्षा र हिमपात कृषक खुसी
हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने स्थानीय किसान रामबहादुर खड्काले बताए
बागलुङ, माघ २४ : शुक्रबादेखि मौसममा आएको परिवर्तनसँगै वर्षा र हिमपात हुँदा बागलुङका कृषक खुसी भएका छन् । बागलुङको ढोरपाटनलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।
यहाँका स्थानीय घुम्ती बसाई गर्न तल्लो ढोरपाटन झरेको र वर्षापछि आलु लगाउन माथि जाने थालेका छन् । हिमपात भएपछि स्थानीयको जनजीवन कष्टकर भएको छ भने सञ्चार सम्पर्कसमेत विच्छेद भएको छ । हिमपातका कारण स्थानीय घरबाट बाहिर निस्कन नसकेको स्थानीय चकबहादुर अदैले बताए ।
ढोरपाटनको ढोरपाटन जनवादी घुम्ती विद्यालयले चिसो बढेसँगै बोबाङबाट पठनपाठन बन्द गरेको छ । हिमपात भएपछि बुर्तिबाङदेखि ढोरपाटन चल्ने यातायात पनि बन्द छन् ।
लामो समय पानी नपर्दा कृषक निराश भएका किसान खुशी भएका छन् । मौसम परिवर्तन भई हल्का वर्षा भएपछि खेतीपाती सप्रने स्थानीय किसान रामबहादुर खड्काले बताए । हल्का वर्षापछि उच्च पहाडी क्षेत्रमा हिमपात भए पनि बारीमा भएको गहुँ जौलगायतका खेतीपातीलाई राम्रो हुने उनले बताए ।











