सरकारले वैदेशिक रोजगार चाहिँदैन भनोस्, म सही गर्न तयार छु : गुरुङ
वैदेशिक रोजगार व्यवसाय संघ यतिबेला आन्दोलनमा छ। व्यवसाय गर्ने इजाजत लिँदा बैंकमा राख्नुपर्ने धरौटीको ब्याज पाउनुपर्ने, कम्पनी मर्जर गर्दा सहुलियत पाउनुपर्ने र मलेसियाम....
वैदेशिक रोजगार व्यवसाय संघ यतिबेला आन्दोलनमा छ। व्यवसाय गर्ने इजाजत लिँदा बैंकमा राख्नुपर्ने धरौटीको ब्याज पाउनुपर्ने, कम्पनी मर्जर गर्दा सहुलियत पाउनुपर्ने र मलेसियामा पुनः कामदार पठाउने प्रक्रिया सुरू गर्नुपर्नेलगायतका माग राख्दै संघ आन्दोलनमा उत्रिएको हो।
विभिन्न देशमा रहेका नेपाली दूतावासहरूले मागपत्र प्रमाणिकरण गर्दा अनुचित लाभ लिन ढिलाई गर्ने गरेको गुनासो व्यवसायीहरूबाट आएको भन्दै संघले यो कामलाई अनलाइन प्रणालीमा लाने व्यवस्था गर्न पनि सरकारसँग माग गरेको छ।
वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन गर्नुपर्ने अवस्था कसरी आयो र यसको समाधान के हो? यिनै विषयमा केन्द्रित रहेर काठमाडौं प्रेसले वैदेशिक रोजगार व्यवसाय संघका अध्यक्ष रोहन गुरुङसँग कुराकानी गरेको छ।
आफ्नो मागप्रति सरकारलाई सकारात्मक बनाउन तपाईंहरू के गर्दै हुनुहुन्छ?
पहिले त हामीले पटक–पटक सरकारलाई आफ्नो मागप्रति ध्यानाकर्षण गरायौँ। तर, सरकारले चासो नदेखाएका कारण हामीले यही जेठ १७ देखि २३ गतेसम्म वैदेशिक रोजगारमा जान चाहानेको उडान बन्द गर्ने निर्णय गरेका छौँ। यति गर्दा पनि माग पूरा नभए झन् सशक्त आन्दोलन गर्नेछौँ।
श्रमिकको उडान बन्द गर्ने भनेको के हो? कसरी गर्ने हो?
जेठ १७ देखि २३ गतेसम्म ७ दिन कुनै श्रमिकको पनि प्लेन टिकट काट्दैनौँ। हाम्रो कार्यालय खुल्ला रहन्छ। अन्य काम जारी रहन्छ। तर, यो अवधिका लागि टिकट बुकिङ चाहिँ हुँदैन। यो अवधिमा काठमाडौंबाट उड्ने कुनै पनि प्लेनमा नेपाली श्रमिकहरू हुने छैनन्।
तपाईंहरूले पटक–पटक आफ्ना मागहरू श्रम मन्त्रालयसमक्ष राख्नुभएको छ। मन्त्रालयले कस्तो प्रतिक्रिया दिने गरेको छ?
म्यानपावर व्यवसायीलाई अप्ठेरोमा पारेर र वा भनौं पेलेर श्रम मन्त्रालय जनतामाझ लोकप्रिय हुन खोजिरहेको छ। व्यवसायीहरू नागरिक होइनन्, यिनीहरूलाई पेलेरै जानुपर्छ भन्ने सोच मन्त्रालयको छ।
वैदेशिक रोजगार भनेको देशको अर्थतन्त्रसँग जोडिएको विषय हो। वैदेशिक रोजगार सप्रिएन भने अर्थतन्त्र पनि बिग्रिन्छ। तर, व्यवसायीहरू आफ्नो स्वार्थद्वारा मात्रै निर्देशित छन् भन्ने बुझाई श्रम मन्त्रालयको रहेको देखिन्छ।
एक मन्त्रीले त सरकारको नीति नै वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने हो भन्ने अभिव्यक्ति पनि दिएका छन्। त्यसो हो भने ठीक छ नि! वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने हो भने गरौँ। हामी घर–घर गएर त विदेश जाने मान्छे खोज्दै हिँडेका छैनौँ नि! के हामीले नेपाली युवालाई घर–घरबाट तानेर जबर्जस्ती विदेश पठाइरहेका छौँ र? तर, नेपाली युवालाई देशमा रोजगारी दिन नसक्ने, अनि वैदेशिक रोजगारी रोक्छौँ भनेर ठूलो कुरा गर्ने? कुनै मन्त्रीको सनकी अभिव्यक्तिले वैदेशिक रोजगार बन्द हुने हो र? नेपाली युवाले देशमै काम पाऊन्, आकर्षक तलब–सुविधा पाऊन्, वैदेशिक रोजगारी त बन्द भइहाल्छ नि!
अर्को कुरा, वैदेशिक रोजगारी निरुत्साहित गर्ने हो भने हामीलाई किन लाइसेन्स दिएको?
मिलेर देशलाई समृद्धि बनाउने तर्फ सोचौँ न। यहाँ त के देखियो भने व्यवसायी भनेको फटाहा हुन् र यिनले देश लुटिरहेका छन् भन्ने सोच सरकारको छ। त्यसो भए हाम्रा लाइसेन्स खारेज गदेऊ न त, सरकार। वैदेशिक रोजगारमा अब उपरान्त नेपालबाट कुनै श्रमिक जान पाउने छैन भनेर सरकारले सूचना जारी गरोस् न त, यस्तो आँट छ? देशमा १५ हजारको तलब दिन नसक्ने, अनि मासिक २५–३० हजार तलबमा विदेश पठाउनुको के अर्थ छ भन्ने?
श्रम मन्त्रालयसँग सम्बन्धित विषयलाई लिएर प्रधानमन्त्रीसँग भेट्नुपर्ने अवस्था किन आयो?
मैले भनिसकेँ – मन्त्रालयले सुनेन, लोकप्रिय बन्न मात्रै खोज्यो। यसैले, हामी देश हाँक्ने प्रधानमन्त्रीकहाँ नै पुगेका हौँ। हेरौँ के हुन्छ।
तपाईंहरूसँगको भेटमा प्रधानमन्त्रीले के भन्नुभयो?
मलाई लागेको थियो – म्यानपावर व्यवसायीप्रति प्रधानमन्त्रीको दृष्टिकोण पनि राम्रो नहोला। तर, प्रधानमन्त्रीमा हामीप्रति तिक्तता रहेको पाएनौँ। उहाँले गम्भीरताका साथ हाम्रो माग सुन्नुभयो। राष्ट्र निर्माणमा सबै क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ भन्दै सबै बसेर समस्या समाधान गर्नुपर्छ भन्नुभयो। अहिल नै वैदेशिक रोजगार बन्द गर्ने अवस्था नरहेको उहाँको धारणा थियो।
उहाँलाई मैले स्पष्ट पारेँ – वैदेशिक रोजगारले देशको विकासमा बाधा गरेको छ भने रोकौँ न त ! तर, उहाँले भन्नुभयो – अहिले वैदेशिक रोजगारी रोक्न सम्भव छैन, विस्तारै संयन्त्रहरू बन्लान्।
एक वर्षदेखि नेपाली श्रमिकहरू वैदेशिक रोजगारीका लागि मलेसिया जान पाइरहेका छैनन्। यसको चुरो कुरो के हो?
मलेसियाको विषयमा धेरै कुराहरू बाहिर आइसकेका छन्। म यस विषयमा धेरै भन्न चाहन्न। यति मात्रै भन्छु – अहिले मलेसिया बन्द हुनुको एक मात्र कारण व्यक्तिगत इगो हो।
(त्यसपछि धेरै बेर मौन)
कसको व्यक्तिगत इगो? कस्तो इगो?
म यस विषयमा धेरै बहस गर्न चाहन्न। यति मात्रै भन्छु – केही व्यक्तिको स्वार्थ र इगोको कारण मलेसिया रोकिएको हो।
श्रम मन्त्री गोकर्ण विष्टप्रति इङ्गित गर्नुभएको हो?
म यति मात्रै भन्न चाहन्छु कि अहिले मलेसियासँग श्रम सम्झौता भएको सात महिना नाघिसक्दा पनि मलेसियाको ढोका नेपाली कामदारका लागि बन्द नै छ र मलेसिया अझै नखुल्नुको मुख्य कारण व्यक्तिगत इगो नै हो। व्यतिmगत इगोकै कारण हजारौँ नेपाली युवा मलेसिया जानबाट बञ्चित छन्। देशले अर्बौं रेमिट्यान्स गुमाएको छ। मैले यति मात्रै भनेँ। यो विषयमा थप कुरा नगरौँ।
नेपाली दूतावासहरूले मागपत्र प्रमाणिकरण गर्न इन्कार गर्ने, पटक–पटक बोलाउने, जानीजानी ढिलो गर्दिने र रोजगारदाताबाट पैसा उठाउने जस्ता गम्भीर आरोप तपाईंहरूले लाउनुभएको छ। खास कुरा के हो?
रोजगारदाताहरू मागपत्र प्रमाणिकरण गर्न नेपाली दुतावास जानुपर्ने हुन्छ। त्यहाँ जाँदा दूतावासका कर्मचारीले नेपालमा रहेका ए,बी,सी नाम गरेकालाई होइन, इ वा एफ नाम गरेका म्यानपावरबाट कामदार ल्याउनुस न भन्छन्। फलानो कम्पनीभन्दा फलानो कम्पनी राम्रो छ भन्छन्। आफ्नो मिलोमतोमा खोलेका आफ्ना म्यानपावरबाट मान्छे ल्याउनूस न भन्ने प्रवृत्ति देखियो। यसरी केही दूतावासका केही कर्मचारी आफैं म्यानपावर व्यापारमा लागेका छन्। त्यो कुराको अन्त्य हुनुपर्छ भन्ने हाम्रो माग हो। अबदेखि रोजगारदाता दूतावास धाउनै नपर्ने गरी नियम बनाइदिनुस् भन्ने हाम्रो माग हो।
श्रमिकको उडान बन्द गर्दासमेत समस्या समाधान नभए के?
यति गर्दा पनि माग पूरा भएन भने हामी अर्को योजनामा जान्छौँ। त्यसपछि वार र पारको लडाइ हुनेछ। सरकारलाई बैदेशिक रोजगार चाहिँदैन भने भनोस्, म सही गर्न तयार छु। अबदेखि नेपालबाट वैदेशिक रोजगारका लागि कुनै पनि मुलुकमा श्रमिकहरू जान नपाउने निर्णय गरोस्, म साइन गर्न तयार छु। त्यो गर्न सक्नु हुन्न भने बैदेशिक रोजगारलाई व्यवस्थित गरौँ। हामी कहाँ सँगै हिड्नुपर्ने हो, कहाँ राज्यलाई सहयोग गर्नुपर्ने हो, हामी गर्न तयार छौँ। हामी सरकारसँग मिलेर काम गर्न तयार छौँ। तर सक्षम मान्छेलाई सरकारले श्रम मन्त्री बनाओस्।












-(7)-1765197040.jpg)