Kathmandu Press

भारतमा कोभिड–१९ विरुद्धको खोप करिब ५० लाखले लगाए

भारतमा कोभिड–१९ विरुद्धको खोप करिब ५० लाखले लगाए

नयाँ दिल्ली, माघ २३ : भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ। सो दिनदेखि हालसम्म करिब ५० लाख व्यक्तिले खोप लगाइसेकेका छन्। कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ।

यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड आठ लाख २ हजारभन्दा बढी पुगेको छ। विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ४०८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड आठ लाख २ हजार ५९१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १२० जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ८२३ जना पुगेको छ। मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ। हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय सङ्क्रमित रहेका छन्। 
भारतको राष्ट्रिय राजधानी दिल्लीमा बिहीबार १५८ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र सात जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८७१ को मृत्यु भइसकेको छ।
 
यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ। भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबारसम्म देशभर १९ करोड ९९ लाख ३१ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ। बुधबार एकै दिनमा मात्र सात लाख १५ हजार ७७६ व्यक्तिलाई कोभिड–१९ परीक्षण गरेको शुक्रबार जनाइएको छ।

प्रकाशित मिति: १३:५२ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्