Kathmandu Press

भारतका कम्युनिष्टकाे पराजयबाट के सिक्ने नेपाली कम्युनिष्टले?

काठमाडौं, जेठ १० : भारतमा सम्पन्न लोकसभा निर्वाचनमा त्यहाँका वामपन्थी (कम्युनिष्ट) पार्टीहरू नराम्रोसँग पराजित भए। भारतको लोकसभामा कम्युनिष्टहरूक....

भारतका कम्युनिष्टकाे पराजयबाट के सिक्ने नेपाली कम्युनिष्टले?
काठमाडौं प्रेस इलुस्ट्रेशन

काठमाडौं, जेठ १० : भारतमा सम्पन्न लोकसभा निर्वाचनमा त्यहाँका वामपन्थी (कम्युनिष्ट) पार्टीहरू नराम्रोसँग पराजित भए। भारतको लोकसभामा कम्युनिष्टहरूको उपस्थिति सन् १९५२ को पहिलो निर्वाचनदेखि यसपटकको सत्रौँ लोकसभा चुनावसम्म हेर्दा संघीय संसदमा इतिहासमै सबैभन्दा कमजोर उपस्थिति भएको हो। ५४३ सदस्यीय लोकसभामा तीन दलका गरी जम्मा छ जनाले जिते पनि ओर्लिँदो ग्राफले यो शून्यतर्फ उन्मुख भएको देखाउँछ।

यस पटक भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादी (सीपीआई–एम) ले ३ सीट, भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) ले २ सीट र रिभ्युलिस्नरी सोसलिस्ट पार्टी (आरएसपी) ले १ सीट जितेका छन्। लोकसभामा वामपन्थी पार्टीले जम्मा छ सीट मात्र हासिल गरेका छन्। 

सन् २०५२ को पहिलो लोकसभा चुनावमा १६ सीट जितेको थियो त्यहाँको कम्युनिष्ट पार्टीले। त्यसको ५२ वर्षपछि सन् २००४ मा पुग्दा भारतीय कम्युनिष्ट पार्टीहरू लोकसभामा तेस्रो शक्तिका रूपमा स्थापित भएका थिए। 

भारतमा वामपन्थीहरूको पराजयका पछाडि मुख्य तीन कारण देख्छन्– लेखक एवम् वामपन्थी अभियन्ता हरि रोका। उनले तीन कारणको व्याख्या गरे–

पहिलो कारण, उनीहरूसँग विगतजस्तो सङ्गठन थिएन।

दोस्रो, दक्षिणपन्थीहरू जसरी तीब्र ढंगले आए, उनीहरूसँग आक्रामक बहस गर्नसक्ने सामथ्र्यसम्म भएन।

तेस्रो, हामी यसरी अघि बढ्नुपर्छ भन्ने नयाँ कार्यक्रम पनि दिन सकेनन्।

भारतीय जनता पार्टी, तृणमुल कांग्रेसजस्ता दक्षिणपन्थी दलहरूको तीव्र अभियानका सामु वामपन्थी टिक्न नसकेको रोकाको मूल्याङ्कन छ।

‘नेपाली काङ्ग्रेसले गरेकै कामलाई नै निरन्तरता दिने हो, त्यही अनुसारको राजपाठ सम्हाल्ने हो भने किन वामपन्थीलाई अँगाल्ने?अलिकति अलग्गै पहिचान हुने वा प्रगतिशील कार्यक्रम नदिने हो यहाँपनि सीपीएम सीपीआइको हालत हुनसक्छ।’

हरि राेका, राजनीतिक विश्लेषक 

हरि राेका

सन् २००४ को लोकसभा चुनावपछि लोकसभामा कम्युनिष्ट पार्टीको अवस्था निकै बलियो थियो। सत्तारुढ गठबन्धनको नेतृत्व गर्ने कांग्रेस आईका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहलाई आफ्ना दृष्टिकोण मान्न बाध्य पार्नसक्ने अवस्थामा थिए। 

सन् २००४ को चुनावबाट लोकसभामा सीपीआई – एमले ४३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) ले १० सीट हासिल गरेका थिए। पश्चिम बंगालका ३० वर्षभन्दा बढी मुख्य मन्त्री चलाएका सीपीआई (एम) का नेता ज्योति बसुलाई प्रधानमन्त्री प्रस्ताव गर्दा उनले अस्वीकार गरेका थिए, त्यसअघि।

अन्य दुई साना कम्युनिष्ट पार्टीहरू रिभ्युलिस्नरी सोसलिस्ट पार्टी र अल इण्डिया फरवार्ड ब्लबले तीन–तीन सीट जितेका थिए। लोकसभामा त्यहाँका कम्युनिष्ट पार्टीहरूको गरी जम्मा ५९ सीट थियो। 

सन् २००४ को चुनावमा भारतीय राष्ट्रिय कांग्रेसले १४३ सीट जितेर सबैभन्दा ठूलो दल भएको थियो। भारतीय जनता पार्टीले १३० सीट जिती दोस्रो दलको हैसियतमा थियो। तेस्रो ठूलो दलका रूपमा लोकसभामा ४३ सीटसहित सीपीएम थियो। अन्य वामपन्थी दलसमेत गरी ५९ सीटसमेत सबै बलियो तेस्रो शक्ति बनेको थियो। 

लोकसभामा तेस्रो शक्ति त थियो नै, कम्युनिष्ट पार्टीले पश्चिम बङ्गाल, केरला र त्रिपुरा– तीन वटा प्रदेशमा प्रदेश सरकार नै थियो। आन्ध्र प्रदेश, महाराष्ट्रमा कम्युनिष्ट पार्टीको बलियो।

सन् २००४ मा कांग्रेस आईको सरकार बन्दाखेरी महात्मा गान्धी रोजगार आयोजना कम्युनिष्टहरूकै प्रभावमा ल्याइएको थियो। 

पाँच वर्षपछि सन् २००९ मा वामपन्थी दलहरूको त्यो शक्ति घटेर २३ सीटमा झर्‍यो। वामपन्थी विश्लेषक रोका २००९ मा सरकारलाई दिएको समर्थन फिर्ता गरी गठबन्धन छाडेर बाहिर निस्केपछि त्यहाँका वामपन्थीहरूले उनीहरूले राजनीतिक रूपमा आफूलाई धान्न नसकेका कारण तीब्र गतिमा क्षयीकरण व्यहोरेको मूल्याङ्कन गर्छन्। 

सन् २०१४ को लोकसभा चुनावमा वामपन्थीको शक्ति यत्ति क्षीण हुन पुग्यो कि तीन कम्युनिष्ट घटकले जम्मा ११ सीट मात्र हासिल गरे। सीपीआई (एम) ले ९ सीट जित्यो भने सीपीआईले १ र आरएसपीले १ सीट जिते। नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको एकल भारी बहुमत भएको लोकसभामा उनीहरूको आवाज पनि शुन्य भयो। 

सन् २०१९ को हिजोसम्म मतगणनामा तीन दल गरी जम्मा ५ सीट जितेको छ जुन शुन्य सीटको अवस्था हो। नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयको आन्दोलनपछि चर्चित भएका विद्यार्थी नेता कन्हैया कुमार यो पटकको चुनावमा भाकपाका आकर्षण थिए। उनलाई प्रधानमन्त्री मोदीविरोधी ‘आइकन’ का रूपमा हेरिएको थियो तर उनी पनि नराम्ररी पराजित भए। 

विश्लेषक रोका समय सापेक्ष आफूलाई व्यवस्थित गर्न नसकेका कारण पराजय व्यहोरेको बताउँछन्। उनले भने, ‘नवउदारवादी बजार अर्थतन्त्रको जुन कुरा आयो, भारतका वामपन्थीले त्यसको विकल्प दिन सकेनन्। बङ्गालकै उदाहरण  हेरौँ न, आफूले चाहिँ बजार अर्थतन्त्र ग्रहण गरे अनि केन्द्रमा चाहिँ त्यसै विषयमा काँग्रेस आईसँग झगडा गरे।’ यस्तै दोहोरो चरित्र पनि पराजय भोग्नुको कारण मान्छन् रोका ।

पश्चिम बङ्गालमा ३४ वर्ष वामपन्थीले एक्लै राज गरे, चुनाव जितेर। ज्योति वसुको अवकाशसँगै तृणमुल कांग्रेसकी नेतृ ममता बेनर्जीको उदयसँगै राज्यसभामा त्यहाँ वामपन्थीको पराजय भयो। त्यसपछि लोकसभामा पनि पछाडि परे। 

विश्लेषक रोकाले भने, ‘दक्षिणपन्थीले गरेको कामलाई वामपन्थीहरूले पनि त्यही रूपमा नक्कल गर्न खोज्दा भने त्यो पार लाग्दैन भन्ने नै भारतमा कम्युनिष्टको पराजयको पाठ हो। उनीहरूले विकल्प हामी हौँ भनेर उभ्याउन सकेनन्।’

नेपालको सन्दर्भमा पनि त्यही कुरा लागू हुने बताउँदै विश्लेषक रोकाले भने, ‘नेपाली काङ्ग्रेसले गरेकै कामलाई नै निरन्तरता दिने हो, त्यही अनुसारको राजपाठ सम्हाल्ने हो भने किन वामपन्थीलाई अँगाल्ने? वामपन्थीले दक्षिणपन्थीको नक्कल गर्दै जानुभन्दा आफ्नै कार्यक्रममा जानुपर्छ। अलिकति अलग्गै पहिचान हुने वा प्रगतिशील कार्यक्रम नदिने हो यहाँपनि सीपीएम सीपीआइको हालत हुनसक्छ।’ 

 


 

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, जेठ १०, २०७६