आयल निगमलाई पाक्षिक एक अर्ब नोक्सान
काठमाडौं, माघ २३ : विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ।...
काठमाडौं, माघ २३ : विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ। पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको शुरुदेखि मध्यसम्मको १५ दिनमा पेट्रोलियम पदार्थको बिक्रीबाट झण्डै ९७ करोड ७५ लाख रुपैयाँ बराबरको नोक्सान हुने सम्भावना छ।
निगमले हाल दैनिक साढे ६ करोड रुपैयाँ नोक्सानी व्यहोर्दै आएको छ। पेट्रोल, डिजेल∕मट्टितेल र खाना पकाउने एलपी ग्यासको घाटाका कारण चर्को नोक्सानी हुने अवस्था देखिएको हो। इन्डियन आयल कर्पोरेशन ९आइओसी० ले सोमबार पठाएको मूल्यसूचीअनुसार फेब्रुअरीको पहिलो पाक्षिकका लागि निगमले पेट्रोलको प्रतिलिटर ५१ रुपैयाँ ६९ पैसा, डिजेलको ५२ रुपैयाँ ३९ पैसा, मट्टितेलको ४८ रुपैयाँ ७६ पैसा र हवाई इन्धनको ४८ रुपैयाँ पाँच पैसा तिर्नुपर्छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर रु एक हजार १२९ रुपैयाँ ८१ पैसा भुक्तानी गर्नुपर्छ।
आइओसीले पठाएको मूल्यमा विभिन्न शीर्षकमा कर लाग्दै आएको छ। ती सबै कर जोडेर निगमलाई पेट्रोलमा ११६ रुपैयाँ ८० पैसा पर्न आउँछ। त्यस्तै, डिजेलमा प्रतिलिटर ९७ रुपैयाँ ६७ पैसा, मट्टितेल प्रतिलिटर ७४ रुपैयाँ ९० पैसा, आन्तरिक हवाई इन्धन प्रतिलिटर ६३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर एक हजार ६७५ रुपैयाँ ११ पैसा लागत पर्ने देखिन्छ।
निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ, डिजेल र मट्टितेल ९३ रुपैयाँ, आन्तरिक हवाई इन्धन ६५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको प्रतिलिटर ०.८६८ अमेरिकी डलर तोकेको छ। खाना पकाउने एलपी ग्यासको बिक्री मूल्य प्रतिसिलिण्डर एक हजार ३७५ रुपैयाँ तोकिएको छ।
निगमलाई प्रतिलिटर पेट्रोलमा ६ रुपैयाँ ८० पैसा, डिजेलमा चार रुपैयाँ ६७ पैसा नोक्सान हुँदै आएको छ। मट्टितेलमा निगमलाई प्रतिलिटर १८ रुपैयाँ १० पैसा र आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा ३५ रुपैयाँ ८७ पैसा नाफा हुँदै आएको छ। खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर ३१७ रुपैयाँ ११ पैसा नोक्सान हुने निगमले जनाएको छ।
चालु १५ दिनमा निगमले कूल ३० हजार किलोलिटर पेट्रोल खपत हुने अनुमान गरेको छ। यस आधारमा पेट्रोलको बिक्रीबाट मात्रै कूल रु २० करोड ३९ लाख, ९५ हजार किलोलिटर डिजेल बिक्री हुँदा ४४ करोड ३५ लाख तथा १४ लाख ३६ हजार एलपी ग्यास सिलिण्डर बिक्री हुँदा कुल नोक्सान ४५ करोड ५६ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।
एक हजार ३५० किलोलिटर मट्टिलेल बिक्रीबाट यसबाट सो अवधिमा रु दुई करोड ४४ लाख नाफा हुने अनुमान गरको छ। त्यस्तै, एक हजार ३५० किलोलिटर आन्तरिक हवाई इन्धनको बिक्रीबाट ३२ लाख रुपैयाँ तथा एक हजार ६०४ किलोलिटर अन्तर्राष्टिय हवाई इन्धन बिक्री गर्दा नौ करोड ८० लाख नाफा हुने निगमले जनाएको छ।










-1754206481.jpg)
