नागरिकका घर–घरमा मास्क पुर्याउने अमेरिकी राष्ट्रपतिको योजना
अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नागरिकका घर–घरमा मास्क पुर्याउने तयारी गरेको छ। निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकोे मास्क निषेध योजनालाई रद्ध गरेर बाइडेनले घर–घरमा...अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले नागरिकका घर–घरमा मास्क पुर्याउने तयारी गरेको छ। निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पकोे मास्क निषेध योजनालाई रद्ध गरेर बाइडेनले घर–घरमा पुर्याउन लागेका हुन्।
कोरोना भाइरस संक्रमणको जोखिम अझैपनि नटरेकाले नागरिकलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यसहित यो नीति अम्बलम्बन गरिएको ह्वाइटहाउसले जनाएको छ। कोभिड रेन्सपोन्स टिमले त्यसको प्रबन्ध मिलाउने काम गरिरहेको छ। यो तयारीले आधिकारिकता पाउन केही समय लाग्ने ह्वाइटहाउसका अधिकारीहरुले बताएका छन्।
आफ्नो कार्यकालको औपचारिक सुरुआत गर्ने क्रममा कार्यकारी आदेशमा हस्ताक्षर गर्दै बाइडनले सरकारी कार्यालयमा मास्क अनिवार्य गरेका थिए। अब नागरिहरुलाई समेत अनिवार्य गर्न लागिएको छ।
कोरोनाविरुद्ध लड्नका लागि प्राथामिक चरणमा मास्कको प्रयोगको उत्तम हुने र यसलाई अनिवार्य गरिनुपर्ने बाइडनको धारणा छ। आफ्नो कार्यकालको सयौँ दिनको अवधिसम्म मास्क लगाएर सहयोग गर्न उनले नागरिकलाई आग्रह गरेका थिए। बाइडेनले मास्क च्यालेन्जसमेत घोषणा गरेका थिए।
मास्क प्रत्येक परिवारका सदस्यलाई वितरण गर्ने वा एक घरमा एउटा पुर्याउने भन्ने विषयमा अझै निक्र्योल भएको छैन। यसमा लाग्ने खर्चको लेखाजोखा समेत हालसम्म भएको छैन। ‘अमेरिकी जनतालाई कोभिडबाट जोगाउनका लागि विभिन्न प्रस्तावहरु आएका छन्। तर, कुनै पनि प्रस्तावले आधिकारिकता पाइसकेको छैन,’ ह्वाइटहाउसका प्रेस सेक्रेटरी जेन पाकीले भने।
संघीय राज्य र प्रान्तका सरकारी कार्यालयमा मास्क अनिवार्य गरिएको छ। निर्वतमान राष्ट्रपति ट्रम्पले मास्क निषेध गरेका थिए। त्यस्तै, सय दिनको अविधमा सय करोड भ्याक्सिन वितरण गर्ने बाइडनको योजना छ।
गतवर्ष ट्रम्पले कपडाको मास्क वितरण गर्ने योजना स्थगित गरेका थिए। यस्ता अभियानमा गैरनाफामुलक संस्थालाई जिम्मा दिनुपर्ने भन्दै उनले यो योजना सरकारी तबरबाट कार्यान्वयन नगर्न प्रान्तीय सरकारका प्रमुखहरुलाई सूचित गरेका थिए। डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिसले मास्क वितरणका लागि प्रयोग हुने कपडा र उत्पादन खर्चका लागि ६ सय ४० करोड अमेरिकी डलर विनियोजन गरिसकेको थियो। गत अप्रिलदेखि स्वास्थ्यकर्मीहरुले जनप्रतिनिधिहरुलाई मास्क लगाउ प्रेरित गरिरहेका थिए। ट्रम्पले भने त्यस आग्रहलाई नकारिरहेका थिए। मास्क नलगाउँदा उनलाई कोरोना संक्रमण भएको थियो।
यता राष्ट्रपति बाइडनले भने आफूले पनि निरन्तर मास्क लगाइरहेका छन्। अरुलाई पनि मास्क लगाउन प्रेरित गरेका छन्। भौतिक दूरी कायम गर्न नमिल्ने स्थानमा मास्क अनिवार्य गरिनुपर्ने उनको निर्देशन छ। नेसनल इन्स्टिच्युट अफ एलर्जीका निर्देशक एन्थोनी फसीले मास्कको लेयर डबल गर्नुपर्ने सुझाब दिएका छन्। ‘डबल लेयरको मास्कले श्वासप्रश्वासमा कुनै समस्या निम्त्याउने छैन, म पनि डबल लेयरकै मास्क लगाउँछु,’ उनले भने।
- एनबीसी न्युज डटकमबाट