पार्टीको केन्द्रीय समितिको बैठक तत्कालै बोलाउन आवश्यक छ : पौडेल
उनले फेसबुकमार्फत देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेकाले पार्टीको स्पष्ट धारणा बनाउन केन्द्रीय समितिको बैठक तत्कालै बोलाउन आवश्यक भएको बताएका हुन् ।
काठमाडौं, माघ २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय समितिको बैठक तत्कालै बोलाउन आवश्यक भएको बताएका छन् । उनले फेसबुकमार्फत देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेकाले पार्टीको स्पष्ट धारणा बनाउन केन्द्रीय समितिको बैठक तत्कालै बोलाउन आवश्यक भएको बताएका हुन् ।
उनले केन्द्रीय समितिको बैठक तत्कालै बोलाउन सभापति शेरबहादुर देउवालाई अनुरोधसमेत गरेको बताए ।
उनले लेखेका छन्, ‘यस्तो अवस्थामा नेपाली कांग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ । मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।’
त्यस्तै उनले सरकारले संसद् छलेर संवैधानिक निकायमा नियुक्ति गरेको विषयलाई संकेत गर्दै देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको दाबी गरेका हुन् ।
उनले लेखेका छन्, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो ।’











