बर्दियाको राजापुर सबस्टेसन संचालन
काठमाडौं, जेठ १० : बर्दियाको राजापुर क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन संचालनमा आएको ....

काठमाडौं, जेठ १० : बर्दियाको राजापुर क्षेत्रको विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन संचालनमा आएको छ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको नौ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३/११ किलोभोल्ट (केभी) राजापुर सबस्टेसन बुधबारबाट संचालनमा आएको हो। यसबाट करिब २० हजार उपभोक्ता गुणस्तरीय विद्युत् प्रयोग गर्न पाउने भएका छन्।
कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।
‘पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दुरीबाट लाइन लगिएकाले भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुनेलगायतका समस्या थिए,’ उनले भने, ‘अब टिकापुरबाट ३३ केभीबाट राजापुर सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्ने छ।’
राजापुर सबस्टेसनबाट तीनटा फिडरहरु राखिएको छ। त्यसमध्ये ११ केभीका दुइटा फिडरहरुबाट विद्युत आपूर्ति गरिएको प्राधिकरणका नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले बताए।
प्राधिकरणले सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष ०७१÷७२ मा ठेक्का सम्झौता गरेको थियो। ठेक्का सम्झौता २०७२ को असारबाट कार्यान्वयनमा आएको थियो।
मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ। चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजारकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलियालगायतका सबस्टेसन संचालनमा आएका छन्।
चालु आर्थिक वर्षभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र आठ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन्। प्राधिकरणले एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।











