नर्स बरालले १४औं दिनमा तोडिन अनशन
काठमाडौं, जेठ १० : नर्सिङ क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत नर्स जीता बरालले अनशन तोडेकी छन्। उनले १४औं दिनमा अनशन तोडेकी हुन्।
स्वास्थ्....
काठमाडौं, जेठ १० : नर्सिङ क्षेत्रको सुधारको माग गर्दै आन्दोलनरत नर्स जीता बरालले अनशन तोडेकी छन्। उनले १४औं दिनमा अनशन तोडेकी हुन्।
स्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि उनले हिजो साँझ अनशन तोडेकी छन्। राज्यमन्त्री डा.यादवले नै उनलाई जुस खुवाएका थिए।
उनी लाजिम्पाटस्थित नर्सिङ संघ नेपालको भवनमा अनशन बस्दै आएकी थिइन्। तर, स्वास्थ्यमा समस्या आएपछि बसुन्धरास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएको थियो।
राज्यमन्त्री डा.यादवले नर्सिङ क्षेत्रको सुधारका लागि सरकार तत्पर रहेको बताए। नर्स बरालको माग अनुसार, सुधार गरिने यादवको प्रतिबद्धता थियो।
उनले १० बुदे माग राखेकी थिइन्। जसमा विश्व स्वास्थ्य संगठनको नीति बमोजिम नर्स र बिरामीको अनुपात मिलाउनुपर्ने, नर्सको सम्मान गर्दै तहगत पारिश्रमिक तथा सेवा सुविधाको व्यवस्था गर्नुपर्ने, नर्सिङ परिषदमा रिक्त सबै पदहरूको पदपूर्ति गर्नु पर्ने, नर्सिङ महाशाखालाई क्रियाशिल बनाइ व्यवस्थित गर्नु पर्ने उल्लेख छ।
त्यस्तै, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई कुनै प्रकारको विभेद गर्न नहुने, नर्सको मानवअधिकार स्थापीत हुनेगरी कार्यविवरण तयार गरी लागू गर्नुपर्ने, नर्समाथि कार्यस्थलमा हुने हिंसा अन्त्य गर्नुपर्ने, नर्सिङ सेवासम्बन्धी ऐन निर्माण गरी स्वास्थ्य सेवा ऐन संसोधन गर्नुपर्ने माग गरिएको छ।
उनको मागमा प्रत्येक स्थानीय तह र स्वास्थ्यचौकीमा २४ घन्टा सेवा दिन कम्तिमा चार जना नर्सको दरबन्दी हुनुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा नर्सिङको छुट्टै शाखा स्थापना गरेर संयोजक समेत तोक्नुपर्ने उल्लेख छ।






