कोटेश्वरमा जुवाको खालबाट ६ जना पक्राउ
काठमाडौं, माघ २० : काठमाडौंको कोटेश्वरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको...
काठमाडौं, माघ २० : काठमाडौंको कोटेश्वरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने विष्णुप्रसाद ढकालको घरबाट तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रे चौरीदेउराली बस्ने ४१ वर्षीय यज्ञबहादुर गौतमलगायत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरी एक लाख ४७ हजार रुपैयाँ पनि बरामद गरेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
यस्तै, लागुऔषधसहित एक जनालाई पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले बताए। काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट आज अवैध लागुऔषध ब्राउन सुगरसहित मकवानपुर फापरवारी गाउँपालिका–७ बस्ने २८ वर्षीय अनुपकुमार विश्वकर्मालाई पक्राउ परेको प्रहरीले जनाएको छ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले ना६ख ९४७८ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार अनुपकुमारलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरिएको जनाइएको छ।











