आधिकारिकता दाबी गर्दै दाहाल–नेपाल समूह आयोग जाने
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ ।
काठमाडौं, माघ १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ ।
राजधानीमा आज बसेको केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘पार्टी विधानअनुसार बैठक गरेर पार्टीका पदाधिकारी हेरफेरको निर्णयसहितका विवरण अद्यावधिक गर्न अनुरोध गरेकामा सोही विषयमा निर्वाचन अयोगले जुन पत्र पठाएको छ, त्यो विषयमा जवाफसहित पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन अयोगलाई पत्र लेख्ने निर्णय भएको छ,’ उनले भने । आयोगमा सहजीकरणका लागि पार्टीका तर्फबाट खटिएका प्रतिनिधि छिट्टै पत्र लिएर आयोग जाने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
गत पुस पहिलो साता बसेको नेकपाको तेस्रो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट पदमुक्त गरी सो स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको थियो ।
नेकपाले अध्यक्षमा नेपाललाई चयन गरेपछि दलसम्बन्धी विवरण अद्यावधिक गर्न आयोगलाई पत्र लेखेको थियो । प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपाले पनि केन्द्रीय समिति विस्तार गरेर आयोगमा विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो । आयोगले दुवै पक्षले पठाएकोे विवरण कानूनसम्मत नभएको जनाई विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो ।











