Kathmandu Press

मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित होस् : वामदेव गौतम

काठमाडौं, जेठ ९ : नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

....
मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित होस् : वामदेव गौतम

काठमाडौं, जेठ ९ : नेकपा सचिवालय सदस्य वामदेव गौतमले प्रस्तावित मिडिया काउन्सिल विधेयक सच्याएर मात्र पारित गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

गौतमले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभामा दर्ता भएको विधेयकका केही प्रावधान नेपालको संविधान विपरीत भएको बताउँदै ती प्रावधानलाई संविधानको अक्षर र भावनाअनुरुप बनाउनुपर्ने बताए।

उनले भनेका छन्, ‘सरकार, राजनीतिक पार्टी र प्रेस सबै मर्यादित र अनुशासित हुनुपर्दछ भन्ने विचारसँग म पूर्ण सहमत छु । तर, समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित लाग्दैन।’

‘समय–समयमा पेशाको मर्यादा र भावना कुल्चिएर गरिने पत्रकारिता (पीत पत्रकारिता) बाट मैँ पनि शिकार हुँदै आएको’ बताउँदै उनले भनेका छन्, ‘समाचार लेखेकै आधारमा पत्रकारलाई दश–दश लाख रुपैयाँसम्म जरिवाना गर्नेजस्ता कठोर प्रावधान उचित नभएको बताउँदै लाग्दैन।’

गौतमको विज्ञप्तिमा उल्लेख छ, ‘स्वतन्त्र प्रेस र व्यवसायिक पत्रकारिता लोकतन्त्रका खम्बा हुन । बोल्न नसक्नेहरुका प्रतिनिधि तथा समाजका पहरेदार र ऐना पनि स्वतन्त्र पत्रकार हुन् । त्यसैले प्रेसलाई चौथो अंगको रुपमा स्वीकार गरिएको पनि हो । प्रेस, व्यवसायिक पत्रकार र सञ्चारकर्मीहरुलाई स्वतन्त्र, निष्पक्ष, निर्भिक एवं सुरक्षित वातावरणमा काम गर्ने अवस्था राज्यले निर्माण गर्नुपर्दछ।’

गौतमले हाल राष्ट्रिय सभा सचिवायलयमा रहेको उक्त विधेयकका विवादास्पद प्रावधानहरु सञ्चार क्षेत्रका जिम्मेवार एवम् सरोकारवालासँग छलफल गरी टुंगो लगाउन र अहिलेकै अवस्थामा अघि नबढाउन नेपाल सरकार, सम्बन्धित सरकारी निकायलगायत सम्बन्धित सबैमा आग्रह पनि गरेका छन्।

उनले भने, ‘कुनै पनि व्यक्तिको चरित्र हत्या हुने, बदलाको भावनाले परिचालित हुने र राष्ट्रिय हितलाई वेवास्ता गर्ने क्रियाकलाप सञ्चार क्षेत्रमा प्रकट हुन नदिन सबै जिम्मेवार सञ्चारकर्मी मित्रहरुलाई पनि हार्दिक अनुरोध गर्दछु।’

प्रकाशित मिति: १२:४० बजे, बिहीबार, जेठ ९, २०७६