कमल पोखरी विस्तारका क्रममा भत्काइए संरचना
काठमाडौं, माघ १९ : काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ। भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय,...
काठमाडौं, माघ १९ : काठमाडौँ महानगरपालिकाले कमल पोखरी विस्तार योजनाअनुरुप केही कङ्क्रिट संरचना भत्काएको छ। भत्काइएका संरचनामा महानगरीय प्रहरी वृत्त कमल पोखरीको कार्यालय, कमल पोखरी स्पोर्टस् क्लबको भवन र राधे–राधेको सत्संग रहेका छन्।
कामपाले आइतबार साँझ डोजर लगाएर ती भवन भत्काएको हो। कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अब चारैतिरका कुनामा काठको कलात्मक मण्डप बनाउने योजना छ। त्यहाँ कङ्क्रिटको प्रयोग गर्दैनौं।
उनले चर्चा गरे जस्तो पोखरीमा कङ्क्रिट संरचना प्रयोग गर्ने योजना नरहेको पनि दाबी गरे। कङ्क्रिट संरचना भत्काउँदा सम्पदाप्रेमी सुशन बैद्यलगायत पनि कमलपोखरी पुगेका थिए। उनीहरुले ती संरचनाबिना जानकारी भत्काएको जनाउँदै अवरोध गर्न खोजेका थिए।
कामपाले करीब २४ रोपनीको कमलपोखरीलाई ‘सुन्दर बनाउने’ पहल गत २०७६ असारबाट शुरुआत गरेको हो। यसका लागि ६ करोड ३६ लाख रुपैयाँको ठेक्का पाएको धनञ्जय–कँडेल जेभीले पोखरी वरिपरी सिँढी बनाउने काम जारी राखेको छ।











