आज अपराह्न मेघ गर्जनसहित वर्षा हुने
काठमाडौं, जेठ ९ : पश्चिमी वायुको प्रभावले आज साँझ देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्ष....

काठमाडौं, जेठ ९ : पश्चिमी वायुको प्रभावले आज साँझ देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघ गर्जन र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ।
पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु र मध्य तथा पहाडी भूभागमा स्थानीय वायुको प्रभावले मौसम प्रभावित भइरहेको जल तथा मौसम पूर्वनुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए।
उनका अनुसार तापक्रम वृद्धि भएकाले हावाहुरी मेघ गर्जनसँगै जोडिएर आउने गर्छ। प्रि–मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरिइरहने उनको भनाइ छ।
राति देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि सामान्य बदली भई मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यसैगरी शनिबार देशका पूर्वी भूभागमा पूर्ण बदली रहने तथा मध्य पश्चिम क्षेत्रका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ। अपराह्नपछि देशका पूर्वी भूभागमा मेघ गर्जन र हावाहुरीसहितको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ५ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ४ डिग्री सेल्सियस रहने छ।
त्यस्तै आज सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस मापन गरिएको छ।











