बिजुली बस : अमेरिकासँग तीन सय, चीनसँग चार लाख
ब्रुकलिनस्थित डिकाल्ब एभेन्युमा एउटा बस चुपचाप गुडिरहेको छ। त्यो रूटमा कुद्ने अधिकांश बसभन्दा नयाँ देखिन्छ, यो बस। चालकतिर एउटा चम्किलो &lsq....
ब्रुकलिनस्थित डिकाल्ब एभेन्युमा एउटा बस चुपचाप गुडिरहेको छ। त्यो रूटमा कुद्ने अधिकांश बसभन्दा नयाँ देखिन्छ, यो बस। चालकतिर एउटा चम्किलो ‘डिस्प्ले’ फर्किएको छ। ढोकाहरू पनि हावाको चापबाट खोलिन्छन् र बन्द हुन्छन्। ‘रस आवर’मा दौडिरहेका यात्रुलाई यो विद्युतीय बस भएको पत्तो छैन। अमेरिकामा बिजुलीबाट चल्ने यस्ता बसको संख्या पोहोरसम्म ठ्याक्कै तीन सय थियो।
चीनमा भने विद्युतीय बस नौलो छैन। पोहोर साल विश्वभर करिब चार लाख २५ हजार ‘इ–बस’ थिए। तीमध्ये चार लाख २१ हजार चीनमा थिए। बुधबार प्रकाशित ब्लुमबर्गएनइएफको प्रतिवेदन अनुसार सन् २०१८ मा ‘इ–बस’को विश्वव्यापी संख्या ३२ प्रतिशतले बढेको छ। तीमध्ये अधिकांश चीनका सडकमा दगुर्छन्। बिएनइएफको गणना अनुसार युरोपमा दुई हजार दुई सय ५० विद्युतीय बस छन्।
सन् २०२५ सम्म चीनको नगर ‘इ–बस’ ६ लाखभन्दा धेरैले बढ्ने बिएनइएफले प्रक्षेपण गरेको छ। अमेरिकामा भने यो संख्या करिब पाँच हजारले बढ्ने अनुमान गरिएको छ। ‘इ–बसका लागि अमेरिकामा कुनै औद्योगिक नीति छैन,’ बिएनइएफको न्यूयोर्कस्थित विश्लेषक निक अल्बानिजले भने। ‘त्यसैले अमेरिका इ–बसको ठूलो निर्यातकर्ता नभएसम्म, चीनले नै नेतृत्व गर्नेछ।’
चीनले राष्ट्रिय ‘म्यान्डेट’ बनाएको छ। उत्पादकलाई सहुलियत दिएको छ र शहरबीच नीतिगत प्रतिस्पर्धालाई बढावा दिएको छ। अमेरिकामा राष्ट्रपतिका एक उम्मेदवारले सन् २०३०सम्म देशका सबै बस ‘जिरो एमिसन’ बनाउन जोड दिइरहेका छन्। तर हाल अमेरिकाले राष्ट्रिय स्तरमा चिनियाँ नीति लागु गरेको छैन। युरोपेली संघले सन् २०२५ सम्म केही नयाँ बसलाई उत्सर्जनरहित बनाउनेछ। जलवायुप्रति सचेत क्यालिफोर्नियाले सन् २०२९ देखि सबै नयाँ बस शून्य उत्सर्जन हुनुपर्ने व्यवस्था गर्नेछ।
बिएनइएफको अनुमान अनुसार चीनको कुल बस संख्याको १८ प्रतिशत पोहोर सालको अन्त्यसम्म विद्युतीय छन्।
तथ्याङ्कमा अघि
बस नै किन ? किनभने बस ठूला हुन्छन्। यात्रुवाहक कारको तुलनामा बसको प्रयोग बढी हुन्छ। त्यसैले हरितगृह ग्याँस उत्सर्जन पनि अत्यधिक हुन्छ। सडकमा गुड्ने प्रत्येक एक हजार ‘इ–बस’ले दैनिक पाँच सय ब्यारेल डिजलको प्रयोग घटाउने बिएनइएफले अनुमान गरेको छ।
अमेरिका ‘इ–बस’को बजारमा भर्खर बामे सर्दैछ। न्यूयोर्कमा मेट्रोपोलिटन ट्रान्सपोर्टेसन एजेन्सीको पाँच हजार सात सय नगर बसमध्ये अहिले मात्रै १० ओटा पूर्ण विद्युतीय र थप १५ ओटा आउने तर्खरमा रहेको एक अधिकारीले जानकारी दिए।
अमेरिकाको सबैभन्दा ठूलो शहरले ‘हाइब्रिड’ बसको सञ्चालनमा बढी सफलता पाएको छ। त्यहाँ जम्मा एक हजार सात सय बस दगुर्छन्। नयाँ ‘इ–बस’ ल्याउने योजनासँगै शहरले एक सय दश ओटा नयाँ ‘कम्प्रेस्ड नेचरल ग्याँस’बाट चल्ने बस ल्याउने एजेन्सीले जनाएको छ। ती बसहरू ब्रोङ्क्स र ब्रुकलिनमा सञ्चालन चल्नेछन्।
चालु अवस्थामा रहेका सवारी साधनको म्याद सकिँदै गएपछि मात्रै धेरैजसो अमेरिकी नगरले ‘इ–बस’बारे विचार गर्छन्। बिएनइएफका अल्बानिजका अनुसार औसत १२ वर्षसम्म सञ्चालन हुन्छ। त्यसैले अमेरिकामा हरेक वर्ष करिब पाँच हजार नयाँ बस मात्रै थपिन्छन्।
सन् २०३० सम्म अधिकांश देशमा विद्युतीय बस सस्तो पर्ने बिएनइएफले जनाएको छ। हाललाई मूल्य आकर्षक छैन। डिजेल मोडेलको तुलनामा ‘इ–बस’को मर्मतसम्भार सस्तो छ। तर धेरै अमेरिकी ‘ट्रान्जिट एजेन्सी’सँग खरिद र मर्मतसम्भारका लागि बेग्लै बजेट छ। क्यालिफोर्नियास्थित ‘इ–बस’ उत्पादक प्रोटेर्रा इन्क. यो मुद्दा सम्बोधन गर्ने प्रयासमा जुटेको छ। कम्पनीले ब्याट्री ‘लिज’मा दिने कार्यक्रम ल्याउने सम्भावनाको अध्ययन गरिरहेको छ। यसले लागत कम हुनेछ भने ‘ट्रान्जिट एजेन्सी’ले डिजेल इन्धनका वापत खर्च गरेजस्तै मर्मतसम्भारको बजेट ब्याट्रीका लागि प्रयोग गर्न सक्नेछ।
ट्रक, बस र अन्य सवारी साधनमा डिजेलको प्रयोग न्युनिकरण
अमेरिकाको प्राविधिक शक्ति चीनको बराबरी गर्ने बलियो आधार हो। उत्तर अमेरिकामा बहुसंख्या विद्युतीय बस निर्माताहरू छन्। उनीहरू घरेलु माग बढाउन चाहन्छन्। विद्युतीय बसको मूल्य प्रतिस्पर्धी हुने समयसम्म यी कम्पनीलाई लाभ पनि हुनेछ। ‘इ–बस’को दौड परिमाणको आधारमा मात्रै जित्न सकिँदैन।
‘चिनियाँ कम्पनीहरूले धेरै सहयोग पाए पनि उत्कृष्ट विद्युतीय सवारी साधन अमेरिकी कम्पनीले तयार गरेका छन्,’ रायन पोप्पलले भने,‘मलाई यो सन्तुलन मनपर्छ।’ पोप्पल प्रोटेर्राका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी टेस्ला इन्कमा पनि कार्यरत थिए।
हालसम्म चीनले बढी लाभ लिएको छ। चीनले ‘एक्लै’ ‘इ–बस’को विश्वव्यापी बजार सिर्जना गरेको अल्बानिजले बताए। केन्द्रिकृत सरकारले तिव्र गतिमा बलिया नीति लागु गर्नसक्छ। विश्वका सबैभन्दा ठूला ब्याट्री निर्मातामध्ये केही चीनमा छन्। यसबाट विद्युतीय सवारी साधनको सबैभन्दा महँगो पाटपुर्जा घरेलु बस निर्माताको सहज पहुँचमा छ।
चीनले सन् २००९ देखि सार्वजनिक यातायात प्रणालीलाई विद्युतीय बनाउन थालेको हो। यो जैविक इन्धनको आयात घटाउँदै व्यापक रूपमा फैंलिदों शहरीकरण व्यवस्थापन गर्ने रणनीति पनि हो। यसबाट वृहत नीति, नियमन र सहुलत पनि तयार भयो जसले एउटा नयाँ उद्योगलाई जन्म दियो। एक दशकपछि, परिणाम उल्लेखनीय छ। सबै प्रकारका विद्युतीय सवारी साधनका लागि चीन विश्वकै एक्लो र ठूलो बजार हो। शेन्जेन ‘इ–बस’को विश्वकै अग्रणी उत्पादक हो । त्यसपछि बेइजिङ, सांघाई र हाङझू आउँछन्।
यिनै कारणले बिवाइडि कम्पनीलाई सबैभन्दा धेरै फाइदा पुगेको छ। सन् १९९० को दशकताका इँटाजत्रा मोबाइल र डिजीटल क्यामेराका लागि कम्पनीले ब्याट्री बनाउने गथ्र्याे। आज कम्पनीले चीनमा प्रत्येक महिनामा ३० हजारको हाराहारीमा विद्युतीय सवारी साधन वा ‘प्लग–इन हाइब्रिड’ बिक्री गर्छ। बिवाइडिका बस विश्वका तीन सय शहरमा गुडिरहेको कम्पनीका अध्यक्ष वाङ च्वानफूले एक अन्तर्वार्तामा बताएका थिए। तीन वर्षदेखि प्रत्येक वर्ष युरोपको बिक्री दोब्बर बनाउन कम्पनी लागिपरेको छ। बिएनइएफका अनुसार बिवाइडिको गृहनगर शेन्जेनमा मात्रै करिब १६ हजार ‘इ–बस’ सञ्चालित छन्।
चीन देशभर विद्युतीय बस सञ्चालन गर्न चाहन्छन्। ‘अतिरिक्त बसको रूपमा विद्युतीय बस खरिद गर्ने अन्य देशको पद्धती यहाँ छैन,’ वाङले भने। ‘पश्चिममा नीजि सवारी साधनलाई सहुलियत दिइन्छ। सार्वजनिक यातायातलाई छैन। उनीहरूले चीनबाट सिक्नुपर्छ।’
ब्लूमबर्ग